रौतहट ।
देशमा हालै सम्पन्न आम निर्वाचनले वाम गठबन्धनको पक्षमा स्पष्ट बहुमत दिइसकेको अवस्थामा राजनीतिक स्थिरताको लागि एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डै नेतृत्वमा सरकार गठन उपयुक्त हुने मन्त्री प्रभु साहले बताएका छन् ।
चुनावअघि एमाले र माओवादी केन्द्रबीच अढाई अढाई वर्ष सरकारको नेतृत्व गर्ने र हरेक पक्षमा माओवादीले चालिस प्रतिशत सिट पाउने भद्र सहमति भएको बताउँदै नेपाल सरकारका विना विभागीय मन्त्री साहले एमाले वा माओवादी दुवैमध्ये जसले पनि पहिले नेतृत्व गर्दा हुन्छ तर शान्ति प्रक्रिया र संविधान निर्माणका अनेक विषयलाई सम्बोधन गर्न सरकारको नेतृत्व गर्ने अढाई वर्षको पहिलो पालो प्रचण्डलाई दिँदा उपयुक्त हुने स्पष्ट पारेका छन् ।
संविधानअनुसार सरकार बनेपछि कम्तीमा दुई वर्षको लागि स्थिर सरकार हुने भएकोले देशमा स्थायी सरकारको निश्चितता भएको तर राजनीतिक स्थिरता तथा स्थिर सरकार फरक फरक विषय भएको मन्त्री साहको भनाइ छ । पहिलो पालोको नेतृत्व प्रचण्डले गर्दा मधेसी, आदिबासी, जनजाति, मुस्लिम तथा पिछडिएको वर्गको सहानुभूति पनि प्राप्त हुने र संविधानमा रहेका असन्तुष्टिलाई सम्बोधन गर्न सबैको साथ लिन सकिने विचार मन्त्री साहको रहेको छ ।
एमाले र माओवादी गठबन्धनले छवटै क्षेत्रमा स्पष्ट बहुमत प्राप्त गरेको तर प्रदेश नम्बर २ मा भने वाम गठबन्धनले उति राम्रो जनाधार बनाउन नसकेकोमा मधेशीको वामपन्थीप्रति असन्तुष्टि रहेको प्रष्ट भइसकेको बताउँदै मन्त्री साहले सरकारको नेतृत्व पहिलो पालीमा प्रचण्डले गर्न पाउँदा राजनीतिक सम्वादले राजनीतिक अस्थिरता हुने सम्भावना तुलनात्मक रुपमा कम हुने विश्वास व्यक्त गरेका छन् । वाम गठबन्धनको पूर्ण बहुमतको सरकार बन्न लागेकोमा खुसी व्यक्त गर्दै मन्त्री साहले देशमा एमाओवादीभन्दा एमालेले राम्रो प्रदर्शन गरेकोमा केही नेताहरुले दम्भ प्रकट गर्न थालेको शंका व्यक्त गर्दै चुनावभन्दा पहिलेको सम्झौता र भद्र सहमतिलाई अक्षरशः पालन गरेमा गठबन्धनमा कुनै विवाद नआउने बताएका छन् ।
एमाले र माओवादीको सहकार्यमाथि नै देशको राजनीतिक स्थिरता र स्थायीत्व निर्भर रहेको हो भन्ने सवालमा धेरै नेपाली स्पष्ट छन् तर मन्त्री साहलाई भने एमालेको व्यवहारमाथि मात्र वाम एकता निर्भर रहने विश्वास छ । नेपाली जनताले वाम गठबन्धनलाई वाचाअनुसार पाँच वर्ष सरकार चलाउन बहुमत दिएकाले स्थिर सरकार र राजनीतिक स्थिरता दुवैको लागि जनतालाई साक्षी राखेर एमाले र माओवादीले सहकार्य गर्नुपर्ने राय मन्त्री साहको रहेको छ ।
No comments:
Post a Comment