सञ्जय मित्र
रौतहट÷धुर्मुस सुन्तली फाउन्डेसनद्वारा रौतहटको चन्द्रपुरमा निर्माण भइरहेको एकीकृत सन्तपुर नमुना बस्तीको निर्माण अन्तिम चरणमा पुग्न लागेको छ । योजना र लक्ष्य अनुरुप नै काम प्रगतिमा रहकोले समयमै पूरा भएर हस्तान्तरण गरिने सिताराम कटेल धुर्मुसले बताएका छन् । बस्ती निर्माण स्थलमै मजदुरहरुसित काम गरिरहेको अवस्थामा भेटिएका सिताराम कटेल धुर्मुसले चौथो परियोजनाको रुपमा निर्माण भइरहेको सन्तपुरको बस्तीमा पनि देश तथा विदेशबाट भरपूर सहयोग भएको बताएका छन् ।
४७ वटा घर र एउटा प्राथमिक विद्यालयको भवन निर्माण भइरहेको बस्तीको शिलान्यास धुर्मुसले आफ्नो जन्म दिनको मौका पारेर गत असोज ३ मा गरेका थिए । असोज २८ देखि बस्तीको पर्खालबाट सुरु गरिएको बस्ती निर्माण कार्य करिब असी प्रतिशत सम्पन्न भइसकेको बताउँदै धुर्मुसले सुदूर पश्चिमदेखि देशैभरका श्रमिकहरु ज्यालाको लागि नभई गरिबको लागि घर निर्माण गर्नु छ भन्दै अहोरात्र २६१ जनाले काम गरिरहेको जानकारी गराएका छन् । बस्ती आगामी माघ २४ का दिन पूर्व घोषित कार्यक्रम अनुसार नै हस्तान्तरण गरिनेमा कुनै द्विविधा नरहेको धुर्मुसको स्पष्टोक्ति रहेको छ ।
एकै ठाउँमा एकै डिजाइनका भूकम्पप्रतिरोधी, वातावरणमैत्री, अपांगमैत्री, सरकारको नीति तथा नीति अनुरुप बनेको दुई तले, तल दुई कोठा र माथि दुई कोठा, ट्वाइलेट र बाथरुम अटैच्ड समेत भएको घरको लागत ५ करोड ९५ लाख अनुमान गरिएको छ । तर स्थानीयले निरन्तर श्रम गरिरहेको तथा केही सामान थोकमा किन्दा केही सस्तो समेत पर्ने देखिएकोले पहिले अनुमान गरिएको भन्दा केही कम लागतमै बस्ती निर्माण हुने करिब निश्चित रहेको धुर्मुसको दाबी छ । सहयोगमा नगद र जिन्सी सामान समेत जुटेकाले लागतमा केही थप कमी आउने उनको विश्वास छ ।
हालसम्म करिब तीन करोड रुपैया खर्च भइसकेको र अझै करिब दुई करोड रुपैया बाँकी रहेको अवस्थामा दुई करोड अपुग रुपैया पनि बाँकीको दिनमा सहयोग स्वरुप प्राप्त हुने विश्वास पनि धुर्मुसको रहेको छ ।
स्वदेश र विदेशबाट सहयोग गर्नेहरुले दिल खोलेर सहयोग गरेकोले बस्ती निर्माणमा खासै कुनै चुनौती वा समस्या नरहेको बताउँदै धुर्मुसले सबैको आशीर्वाद र स्याबासीले एकातिर हौसला मिलेको छ भने अर्कोतिर विदेशमा रहेका कतिपय नेपालीले आफ्नो घर नबनाएर दलित तथा गरिबहरुको नमूना बस्ती बनाउन सहयोग गरेको सद्भाव समेत प्राप्त भएको बताउँछन् । सबैको सहयोगमा प्राप्त ऊर्जा नै यथार्थमा नमूना बस्तीको पूर्णताको आधारको रुपमा रहेको धुर्मुसको भनाइले उनमा रहेको ऊर्जा र आत्म विश्वासलाई एकसाथ प्रदर्शन गरेको छ ।
जसको लागि बस्ती निर्माण भइरहेको छ, तिनीहरुले धुर्मुस र सुन्तलीलाई भगवानजस्तै मान्न थालेको देखिएको छ ।
No comments:
Post a Comment