काठमाडौँ, १८ मंसिर प्रतिनिधिसभा सदस्यका लागि ः उपत्यकामै सबैभन्दा बढी महिला प्रतिस्पर्धामा रहेको काठमाडौँ क्षेत्र नं ३ मा चुनावी वातावरण रोचक बन्दै गएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा महिला उम्मेदवारको संख्या कम भएको गुनासो आइरहेका बेला काठमाडौँ क्षेत्र नं ३ मा भने चुनावी प्रतिस्पर्धामा उत्रिएका नौ महिलाले आफ्ना प्रचारप्रसारलाई तीव्रता दिएका छन् ।
काठमाडौँमै यो क्षेत्रमा बढी महिला उम्मेदवार रहेको मुख्य निर्वाचन अधिकारी रमेशराज पोखरेलले जानकारी दिनुभयो । प्रतिनिधिसभा सदसयका लागि क्षेत्र नं १ मा दुई, क्षेत्र नं २ मा तीन, क्षेत्र नं ३ मा नौ, क्षेत्र नं ४ मा एक, क्षेत्र नं ५ मा पाँच, क्षेत्र नं ६ मा एक, क्षेत्र नं ७ मा दुई, क्षेत्र नं ८ मा एक, क्षेत्र नं ९ मा दुई र क्षेत्र नं १० मा एक महिलाको उम्मेदवारी परेको उहाँले बताउनुभयो ।
क्षेत्र नं ३ बाट १७ जना उम्मेदवार प्रतिनिधिसभाका लागि प्रतिस्पर्धी रहेकामा लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेस केन्द्रीय सदस्य एवं सहकारी तथा गरिबी निवारणमन्त्री अम्बिका बस्नेत, हाम्रो पार्टीकी गीता दाहाल, देशभक्त जनगणतान्त्रिक मोर्चाकी ज्ञानु खतिवडा, विवेकशील साझा पार्टीकी सुमित्रा सिंह लामा, राष्ट्रिय मुक्ति आन्दोलनकी माया तामाङ, नेपाली ग्रीन्स पार्टीकी स्मिता खत्री क्षत्री र स्वतन्त्र तीन महिला ज्ञानु लामा तामाङ, पाङमाया कार्की पौडेल र विन्दु मगर प्रतिस्पर्धामा हुनुहुन्छ ।
काठमाडौँ महानगरपालिकाको वडा नं ६, गोकर्णेश्वर नगरपालिकाका नौ वटा वडा र कागेश्वरी मनोहरा नगरपालिकाका वडा नं १, २ र ३ पर्ने उक्त क्षेत्रमा वाम गठबन्धनबाट कृष्णबहादुर राईलगायत आठ पुरुष प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धी छन् ।
उक्त क्षेत्रको प्रदेशसभा सदस्य (क) मा महानगरपालिकाको वडा नं ६ एवं गोकर्णेश्वर नगरपालिकाको वडा नं ५ र ९ पर्दछ । प्रदेश (क) मा २१ हजार ४८० मतदाता रहेको ३ नं क्षेत्रीय निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत बाबुराम भट्टराईले जानकारी दिनुभयो । प्रदेश (क) मा सात उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । प्रदेश (क)मा भने महिलाको उम्मेदवारी परेको छैन ।
प्रदेश (ख) मा गोकर्णेश्वर नगरपालिकाको वडा नं १, २, ३, ४, ६, ७ र ८ एवं कागेश्वरी मनोहरा नगरपालिकाका वडा नं १, २ र ३ पर्दछ । यो प्रदेशमा ३२ हजार ३५४ मतदाता छन् । प्रदेशसभा निर्वाचनका लागि यस क्षेत्रबाट १० जना प्रतिस्पर्धामा उत्रिएकामा अञ्जना श्रेष्ठ एउटै महिला उम्मेदवार हुनुहुन्छ ।
समग्र ३ नं क्षेत्रमा ५३ हजार ८२४ मतदाता छन् । स्थानीय तह निर्वाचनको मत परिणामका आधारमा काँग्रेसको मत बढी देखिन्छ । स्थानीय तहमा महानगरको वडा नं ६, गोकर्णेश्वर नगरपालिका एवं कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं २ काँग्रेसका उम्मेदवार विजयी भएका थिए ।
काँग्रेस उम्मेदवार बस्नेत स्थानीय तह निर्वाचनको मत परिणाम र पार्टीको संगठन पनि मजबुत भएकाले आफ्नो जित सुनिश्चित भएको बताउनुहुन्छ । आफू लामो समयदेखि यही क्षेत्रबाट राजनीतिमा सक्रिय हुँदै पार्टीको महिला संघको अध्यक्ष एवं केन्द्रीय सदस्य र समानुपातिक सांसद भएर काम गरेकाले पनि विजयी हुनेमा ढुक्क रहेको उहाँ बताउनुहुन्छ ।
लोकतान्त्रिक गठबन्धनबाट प्रदेश (क) मा छिरिङ दोर्जे लामा र प्रदेश (ख) मा विमल ठकुरी उम्मेदवार हुनुहुन्छ । विसं २०७० को दोस्रो संविधानसभा निर्वाचनमा यो क्षेत्रमा काँग्रेस थोरै मतान्तरले पराजित भएर एमालेका रामेश्वर फुयाल विजयी हुनुभएको थियो । फुयाल अहिले वाम गठबन्धनका तर्फबाट प्रदेश (ख) को उम्मेदवार हुनुहुन्छ ।
समुन्नतिको आधार, स्थिर सरकार र संविधानमा व्यवस्था भएका उपलब्धिको रक्षाका लागि वाम गठबन्धनको जित सुनिश्चित रहेको उहाँ बताउनुहुन्छ । प्रतिनिधिसभा र प्रदेशसभाका अधिकांश उम्मेदवारले बाटोघाटो, मेलम्चीको पानी सबैतिर समानुपातिक तवरले वितरण गर्ने, स्वच्छ शहर, क्षेत्रमा रहेका सांस्कृतिक सम्पदा गोकर्णेश्वर महादेव मन्दिर र बौद्धनाथ स्तुप क्षेत्रको विकास गरी पर्यटक बढाउनेलगायत मुद्दा बनाएका छन् ।
गोकणेश्वर र कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं १ मा पर्ने शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रको जनजीवनलाई सामान्य बनाउनेतर्फ ध्यान दिने उनीहरूको प्रतिबद्धता पनि छ ।
No comments:
Post a Comment