भक्तपुर, पुस १३ । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले आगामी माघ पहिलो साताभित्रै वाम गठबन्धनको सरकार बन्ने बताएका छन् ।
रफत सन्चार क्लबमा बिहीबार आयोजित साक्षात्कार कार्यक्रममा उनले सो अवधिमा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बन्ने दाबी गरेका हुन् ।
एमाले र माओवादीबीच बृहत् छलफल र बहस भइरहेका कारण सरकार गठनलगत्तै पार्टी एकीकरण हुने चर्चा गर्दै सचिव ज्ञवालीले पार्टी एकीकरणमा कुनै शंका नभएको र अब बन्ने सरकार पनि स्थायी सरकारकारुपमा रहने बताए ।
अहिलेको कामचलाउ सरकारले गरेका सबैखाले निर्णय र नियुक्तिहरु गैरकानुनी र नैतिकताविपरीत रहेको उल्लेख गर्दै उनले भने–‘नयाँ सरकारलाई कामचलाउ सरकारले अहिले गरेका निर्णय मान्य हुँदैनन् ।’
सचिव ज्ञवालीले अबको सरकारमा क्षमता र योग्यताका आधारमा राम्रा व्यक्ति जाने भन्दै तिनले जनचाहनाअनुसार काम गर्न नसके हेरफेर गर्नसकिने पनि बताए ।
राष्ट्रियसभाको अध्यादेश राष्ट्रपतिले अहिले नै प्रमाणीकरण गर्नुपर्ने बाध्यता नरहेको र सरकार गठन तथा अध्यादेश फरक पाटो भएकाले अध्यादेश प्रमाणीकरणमा राष्ट्रपतिलाई दबाब दिन नहुने उनको भनाइ थियो ।
निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फको मतपरिणाम तत्काल सार्वजनिक गर्नुपर्नेमा जोड दिँदै सचिव ज्ञवालीले समग्र भूगोल, जनसंख्या र जनभावनाअनुसार प्रदेश राजधानी प्रदेशसभाले नै तोक्नुपर्ने बताए ।
No comments:
Post a Comment