१३ पुस, काठमाडौं । क्षयरोगको प्रभावकारी उपचारका लागि नेपालमा नौ महिने छोटो उपचार विधि सुरु हुने भएको छ ।दामियन फाउन्डेशन बेल्जियमको सहयोगमा जनवरी एक तारिखदेखि काठमाडौं, विराटनगर, बुटवल तथा नेपालगञ्ज गरी चार ठाँउबाट यो विधिको सुरुवात गर्ने राष्ट्रिय क्षेयरोग केन्द, भक्तपुरले जानकारी दिएको छ ।
यो उपचार विधि सुरु हुने नेपाल विश्वकै ३८ औ देश हो ।
केन्द्रका अनुसार यो विधिबाट उपचार गर्दा विरामीले नौ महिनासम्म आवश्यक औषधि सेवन गर्नुका साथै ४ देखि ६ महिनासम्म सुई लिनु पर्नेछ । यस्तो उपचारसेवा गर्भवती महिला तथा फोक्सो बाहेकका अन्य अंगमा क्षयरोग भएका विरामीलाई भने दिइने छैन ।
नेपालमै पहिलोपटक सुरु हुन लागेको यस किसिमको उपचारका लागि आवश्यक पर्ने सम्पूर्ण पूर्वाधार दामियन फाउन्डेशन बेल्जियमले उपलब्ध गराएको छ । केन्द्रका निर्देशक डा. केदार नरसिंह केसीले भने,’ कार्यक्रमको पहिलो चरणमा सुरु चार ठाउँबाट सुरु गनि लागेको यस कार्यक्रमलाई क्रमश देशैभर सञ्चालन गर्ने तयारीमा छौं ।’
यसको लागि केन्द्रले हाल दशैभरी क्षयरोगका विरामीको प्रारम्भिक सर्भेक्षण गर्ने तयारी गरिरहेको डा. केसीले बताए ।
डा. केसीका अनुसार देशभरका ५५ जिल्लामा ५७ हजार ६१० जनामा गरिने यस सर्भेक्षणमा अत्याधुनिक प्रविधिद्धारा रोग निदान र परिक्षणका माध्यमद्धारा क्षयरोगको वास्तविक अवस्था आकंलन गरिने छ । यसको लागि केन्द्रले पि्र टेष्टिङ्ग ओरियन्टेसन लगायतका कार्य सम्पन्न गरिसकेको छ ।
केन्द्रका अनुसार विश्व स्वास्थ्य संगठनबाट मान्यता प्राप्त यस उपचार विधिको अभावमा हाल केन्द्रले क्षयरोगका विरामीहरुलाई २० महिनादेखि २४ महिनासम्म क्षय रोगका औषधि सेवन गराउँदै आएको थियो ।
विभिन्न देशमा सञ्चालनमा रहेको यस उपचार विधिको विस्तृत अध्ययन गरी सकारात्मक सूचकलाई स्वीकार गरी सन सन् २०१६ मा विश्व स्वास्थ्य संगठनबाट मान्यता प्राप्त भएपछि केन्द्रले यो सेवा नेपालमा पनि सुचारु गर्न लागेको हो । यस उपचार विधिको सफलता दर झण्डै ८६ प्रतिशत रहेको केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार छोटो समयमा गरिने यस्ता उपचार विधिको अभावमा नेपालमा क्षयरोगका विरामीको वहुऔषधि प्रतिरोधी -एमडीआर) द्धारा उपचार हुँदै आएको थियो । न्युनतम २० देखि २४ महिनासम्म गरिने यस्ता उपचार विधिमा विरामीलाई छ थरीका औषधि ख्वाइनुका छ पटक सम्म सुई लगाइने गरिएको थियो ।
नेपालमै यो सेवा सुरु भएसँगै क्षयरोगका विरामीको छिटो उपचार हुनुका साथै स्वास्थ्यमा पार्ने प्रतिकुल असर कम गर्दै लैजाने विश्वास लिइएकेा छ ।
No comments:
Post a Comment