Wednesday, January 3, 2018

धनकुटालाई प्रादेशिक राजधानी बनाउन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौँ, १९ पुस (रासस) ः प्रदेश नं १ को प्रदेश प्रमुखको मुकाम र प्रदेशसभा पहिलोपटक धनकुटामा गर्न माग गर्दै धनकुटावासीले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन् ।

धनकुटाबाट राजधानीमा आएको सर्वपक्षीय प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री निवास बालुवाटारमा ज्ञापनपत्र बुझाउँदै प्रादेशिक राजधानी धनकुटालाई बनाउन माग गरेको नेपाली काँग्रेस धनकुटाका सचिव विजयसन्तोषी राईले जानकारी दिनुभयो ।

प्रतिनिधिमण्डलले पूर्वाधार, सामथ्र्य, सुरक्षा, सुन्दरताको खानी रहेको धनकुटालाई प्रदेशको राजधानी बनाउँदा अन्तर्राष्ट्रिय सिमाना र भौगोलिक समदूरीले पनि उपयुक्त रहेको तर्कसहित प्रदेशसभाको पहिलो बैठक गर्न निर्णय गरिदिन माग गरेको थियो ।

भेटमा प्रधानमन्त्री देउवाले पूर्वाञ्चलको क्षेत्रीय सदरमुकाम रहेको र भौतिक पूर्वाधारले सम्पन्न धनकुटालाई प्रादेशिक राजधानी बनाउन आफू सकारात्मक रहेको बताउनुभएको थियो ।

प्रतिनिधिमण्डलमा प्रादेशिक राजधानी निर्माण अभियान समितिका संयोजक उमेश घिमिरे, प्रदेशसभाका सांसदहरु इन्द्रमणि पराजुली, लीला सुब्बा, बिना राई, कुसुम कुमारी श्रेष्ठ, पूर्व सांसद मनोहरनारायण श्रेष्ठ, नेपाली काँग्रेस धनकुटाका सभापति अग्निप्रसाद पौडेल, मानवाधिकार एलाइन्सका केन्द्रीय उपाध्यक्ष विदुर सुवेदीलगायत विभिन्न पार्टीका सम्पर्क समितिका पदाधिकारी हुनुहुन्थ्यो ।

समितिले आजै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर धनकुटालाई प्रादेशिक राजधानी तोक्नका लागि सहयोग गर्न आग्रह गरेको थियो । भेटमा अध्यक्ष दाहालले उक्त मागप्रति आफू सकारात्मक रहेको बताउनुभएको सचिव राईले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...