Friday, January 26, 2018

खुल्यो मन्दिरको ढोका

बाल्टिमोर,अमेरिका,जनवरी २५ । बाल्टिमोरमा नेपाली अमेरिकन कल्चर सेन्टर अफ बाल्टिमोरको तर्फबाट निर्माण गर्न लागिएको बहुप्रतीक्षित मन्दिर निर्माणको अवरोधको ढोका खुलेको छ । स्थानीय बाल्टिमोर काउन्टी सरकारले सार्वजनिक सुनुवाई,छलफल र कानुनी प्रक्रिया पुरा गरेपछि सोही सेन्टरको नाममा खरीद गरिएको जग्गा र भवनमा नै मन्दिर निर्माण र संचालनको लागि आज अनुमति दिएपछि मन्दिर निर्माणको सपनाले सार्थकता पाउने बाटो खुलेको हो ।

मन्दिर निर्माणका संस्थापक अगुवा मध्येका एक कृष घिमिरेले आज सेन्टरको फेसबुक पेजमार्फत काउन्टी सरकारले मन्दिर संचालनका लागि अनुमति प्रदान गरेको जानकारी पोष्ट गरेका छन् । गत बुधवार मात्र काउन्टी सरकारले यस बारेमा सार्वजनिक सुनुवाई गरेको थियो ।

सरकारी र कानुनी प्रक्रिया पुरा नगरी लाखौं डलरको जग्गा र घर खरीद गरिसकेपछि विगत एक वर्षदेखि मन्दिर निर्माण हुने कि नहुने भन्ने अन्यौल सिर्जना भएको थियो । बैंकले लिलामी गरेको निकै पुरानो निजी घर र जग्गा सस्तो मूल्यमा पाएको भन्दै सेन्टरका तर्फबाट गत वर्ष घर,जग्गा खरीद गरिएको थियो ।


तर व्यक्तिगत प्रयोगमा रहेको बोनापार्ट मेन्सनको नाममा चर्चित यो निजी निवासमा सार्वजनिक कार्यक्रम गर्न अनुमति मिल्ने हो कि होइन भन्ने बारे यसका अभियन्ताहरु सुरुमा पूर्ण बेखबर रहे । जब मन्दिर निर्माणका लागि भवन सरसफाई र मर्मत सम्भार गर्ने,नेपालीहरुको आवतजावत हुने र अन्य गतिविधि बढ्न थाल्यो तब त्यस वरपरका बासिन्दाहरुको पनि ध्यान आकर्षित हुन पुग्यो । अमेरिकाको कानुन अनुसार कुनै पनि निजी प्रयोजनको घर,जग्गालाई सामाजिक रुपमा संचालन गर्नका लागि सामुदायिक सुनुवाईको प्रक्रिया पुरा गर्नुपर्छ । यही प्रक्रिया पुरा गर्न पनि सोही क्षेत्र वरपर बस्ने स्थानीय बासिन्दाले सहमति दिएनन् भने सरकारले समेत केही गर्न सक्दैन । यही प्रक्रियामा अल्झिएको थियो नेपाली मन्दिर निर्माणको चरण पनि ।
अन्तत: लामो समयको अन्यौल र विभिन्न समूह र सरकारी अधिकारी एवं स्थानीय तहका निर्वाचित अमेरिकी जनप्रतिनिधि र सामुदायिक अगुवाहरुसंगको चरण चरणको छलफलपछि काउन्टी सरकारको सार्वजनिक सुनुवाईसम्म पुरा गरेर यसले मन्दिरको ढोका खोल्ने सफलता पाएको छ । अभियन्ता कृष घिमिरेले लेखेका छन्,-‘तपाईंहरु सबैको साथ,सहयोग र निरन्तरको प्रयासले आज यो सफलता प्राप्त भएको छ । यसका लागि म यस परिसरका हाम्रा छिमेकीसहित तपाईंहरु सबैलाई धन्यवाद व्यक्त गर्दछु ।’ अब यस क्षेत्र आसपास बस्ने हिन्दू एवं बौद्ध धर्मावलम्बीहरु (खासगरी नेपाली मूलका) ले आफ्नै नजिक हिन्दू-बुद्ध मन्दिरको दर्शन गर्ने पाउने सपना पुरा हुने भएको छ । यो नै सबैभन्दा ठूलो खुशी हो ।
बाल्टिमोर आसपास दशकौंदेखि दशौँ हजार नेपाली बस्ने भएता पनि नेपालीहरुको आफ्नै स्व:स्फूर्त पहलमा मन्दिर निर्माणको चाहिं यो पहिलो प्रयास हो । अहिले मन्दिरको लागि प्रस्तावित भवनको रंगरोगन गर्ने र सरसफाई गर्ने बाहिरी काम सकिएको छ । मन्दिर निर्माणको सोचसहित क्रियाशील रहेका अभियन्ता कृष घिमिरे भन्छन्,-‘ मन्दिरको मूख्य भवनको बाहिरी काम सकिएको छ,अब हामी भित्री रंगरोगन,मर्मत र सरसफाई सकेर चाडै नै विधिवत पूजाआजाको काम सुरु गर्ने तयारी गर्दैछौं ।’ त्यसो त यही मन्दिर निर्माणका लागि सहयोग संकलन गर्न भनेर आगामी अप्रिल १६ देखि २२ तारिखसम्म यहाँ सप्ताहव्यापी महापुराण लगाइने भएको छ ।
यस्तो छ प्रस्तावित मन्दिरले ओगट्ने भवन,योजना र जग्गाको क्षेत्र 
पुरानो भएता पनि यो घर निकै महत्वको रहेको छ । बोनापार्ट मेन्सन (हबेली) को नामले परिचित यो घर बैंक लिलामीको चरण हुँदै नेपालीहरुको सार्वजनिक सम्पति बन्ने भएको छ । कूल  ३१ एकड जमिन र बङ्गला, सहायक घर, स्वीमिङ पुल, टेनिस कोर्ट समेतको भौतिक संरचना रहेको यो सम्पति नेपालीहरुले आफ्नै श्रोतमा कूल ६ लाख ८० हजार डलरमा खरीद गरेका हुन् ।
मर्मत सम्भार गरी पूर्णरुपमा सञ्चालनमा ल्याउन करिब १६ लाख डलर लाग्ने अभियन्ताहरुको प्रारम्भिक अनुमान थियो  तर अहिलेसम्मको प्रगति हेर्दा पूर्व अनुमानित रकम कम हुने देखिएको छ । यसकै लागि विभिन्न माध्यममार्फत सहयोग संकलन गर्ने कार्य पनि जारी राखिएको छ ।
मूल भवनले   क्षेत्रफल ओगटेको छ भने टेनिस कोर्ट,पूजाका लागि छुट्टै स्थान,पानीको फोहोरा (फाउन्टेन) लगायतका अन्य संरचनाको पनि मर्मत सम्भार हुँदैछ ।

बस्तीबाट केही माथिको डाँडामा रहेको यो ठाउँ निकै आकर्षक पनि छ । ऊ माथि शिवपुरी डाँडा भने जस्तै ठाउँ छ अहिले नेपालीहरुले आफ्नै श्रोतमा बनाउन लागेको प्रस्तावित मन्दिर क्षेत्र जहाँ ६ हजार पाँच सय स्क्वायर फीट क्षेत्रफलमा मूख्य भवन छ,जुन भवनलाई अहिले पहेंलो रंगले उज्यालो र मन्दिर भवनको संकेतको रुपमा सिंगारिएको छ । सोही भवनमा ६ कोठा र दुई तल्ला छन् भने भविश्यमा पुजारी बस्नका लागि परिसरमै छुट्टै घर छ । जग्गा धेरै भएका कारण भोली नेपालीहरुले सामुदायिक भवन,धर्मशाला, क्यान्टिन, सभाहल जे चाहे पनि बनाउन सक्ने अवस्था छ । त्यसो त खुल्ला क्षेत्रमा खाली जग्गा प्रशस्त भएका कारण भविश्यमा यो क्षेत्रलाई धार्मिक आस्थाको अध्ययन अनुसन्धान केन्द्र बनाउन पनि सकिन्छ ।थप यो पनि ,

यसरी बन्दैछ बाल्टिमोरमा मन्दिर

बाल्टिमोरमा सप्ताहव्यापी महापुराण लगाइने 

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...