Sunday, February 18, 2018

इतिहाँस पुनरावृत्ति, अमेरिका-रुस डिजिटल शीत युद्धले रोमान्चक मोड लिदै

पुरुषोत्तम ढकाल, लसएन्जलस, ७ फागुन । सूचना र प्रविधिले ल्याएको युगान्तकारी परिवर्तनसंगै दुई महाशक्ति राष्ट्रहरु अमेरिका र रुसको युद्ध शैलीमा आएको डिजिटल युगको रोमान्चक र अनौठो सत्यको सामना गर्न तयार रहनुहोस् । अर्थात् ९० को दशकमा सोभियत युनियनको पतन हुनु अघि दुनियाँ दुई ध्रुवमा जसरी विभक्त थियो एक्काइसौ सताव्दीको सूचना र प्रविधिको यो युगमा पनि यिनै दुई महाशक्ति राष्ट्र अमेरिका र रुस असंख्य बख्तर बन्द गाडी, हजारौ सेना र युद्ध विमानको आकासे होडवाजी होइन सामाजिक संजाल मार्फत डिजिटल शीत युद्धमा सामेल भएका छन् । हो यतिबेला अमेरिका र रुस बीच अघोषित शीत युद्ध अर्थात् डिजिटल शीत युद्ध शुरु भएको छ । र युद्धको स्वरुप डिजिटल शैलीको छ र अध्यन गर्न चाहनेहरुका लागि डिजिटल शीत युद्ध यतिबेला रोमान्चक मोडमा पुगेको छ । यद्यपि यस पटकको शीत युद्धमा मान्छे प्रत्यक्ष सहभागी भएको छैन । दुई महाशक्ति राष्ट्रको डिजिटल शीत युद्धमा मान्छेको स्थान र भूमिका बोट्सले लिएको छ र यो युद्ध तिब्र गतिमा अगि बढिरहेको छ अर्थात् कृतिम तरिकाले फर्जी ट्विट गरिएको दृश्य सामाजिक संजालमा छताछुल्ल छ । अमेरिकी प्रतिद्वन्दी रुसी केजीबीका एजेन्टहरुको स्थान यतिबेला इन्टरनेट रिसर्च एजेन्सी, (आईआरए) ले लिएको छ।

अमेरिकी संघिय जांच ब्यूरो, (एफबिआई) ले अमेरिकी राष्ट्रपति चुनावमा हस्तक्षेप गरेको भन्दै १३ जना रुशी नागरिक, तीन कम्पनीलाई सप्रमाण आरोप लगाएको छ । शुक्रबार रबर्ट मुलरले रुसको आईआरएले पहिचान लुकाएर,नयाँ प्रविधि मार्फत अमेरिकाको बैंक र अमेरिकी निकायहरुलाई धोखा दिएको र अमेरिकी जनमतलाई फर्जी तरिकाले प्रभावित पारेको आरोप सार्वजनिक गरेपछि दुई महाशक्ति राष्ट्रको डिजिटल शीत युद्ध रोमान्चक मोडमा पुगेको तथ्य सतहमा आएको छ ।

यतिबेला अमेरिकाले मूख्य रुपमा रुशी रिसर्च एजेन्सी आईआरएलाई निशाना बनाएको छ । यसलाई ‘ट्रोल फर्म’ भनेर परिचित गराइएको छ ।
आरोपमा भनिएको छ रुशको सेन्ट पिटर्स्बर्गबाट संचालित यो एजेन्सीले सामाजिक संजाल ‘सोशल मिडिया’ मार्फत राष्ट्रपति उम्मेदवार हिलारी क्लिन्टनको विरुद्ध रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रंपको पक्षमा फर्जी पोस्ट गरेर अमेरिकी राष्ट्रपति निर्वाचनलाई प्रभावित गर्ने काम गरियो ।

अभियोग पत्रमा भनिएको छ, ‘आईआरए राज्य संरक्षित संगठित संस्था हो जसले यस्तो कामका लागि आफ्नो बजेटको लाखौ डलर खर्च गरेको छ ।आईआरएको धेरै विभागहरु छन् जसले इन्टरनेटका फरक फरक क्षेत्रमा काम गर्छन । कतिपय विभाग मात्र सर्च इन्जिन अप्टिमाइजेसन र ग्राफिक्सको काम गर्छन ।’

अमेरिकी अनुसन्धानकर्मीहरुको पहुँच आईआरएका एक अधिकारीको मेलसम्म पुग्न सफल भयो । अभियुक्त इरिना कावेर्जिनले आफ्नो परिवारको सदस्यलाई लेखेको इमेलमा भनिएको छ, ‘मैले यो सवै तश्वीर र पोस्ट तयार गरे जसलाई अमेरिकीहरुले उनीहरुकै मान्छेले लेखेको र पोस्ट गरेको भन्ने विस्वास भयो ।’ अनुसन्धानबाट अर्को रोचक तथ्य पनि बाहिरियोकी, अमेरिकामा बसोबास गर्ने रुशी नागरिकहरुले अमेरिकाको महत्वपूर्ण राज्यहरुमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रंपको पक्षमा जनमत तयार गर्ने काम गरे । फर्जी कामका योजनाकारहरुले आईआरएलाई पठाएको आन्तरिक संदेशमा यति सम्म भनिएको छकि, ‘पोलिटिक्स इन द युएसए’ फोकस गरेर कन्टेन्ट पोस्ट गर्नु ।’ र यिनै पोस्ट मार्फत हिलारीको तिब्र आलोचना गरियो ।

अमेरिकी दावी अनुसार मस्कोले आफ्नो अनुकुलको राष्ट्रपति निर्वाचित गरेर वाशिंगटनमा उथल पुथल ल्याउने काम गरेको छ । उता रुसले यो दावीलाई पूर्ण रुपले अस्विकार गरेको छ । रुसी विदेश मन्त्री सेरगी लावारोवले म्युनिक सेक्युरिटी कन्फ्रेसलाई संबोधन गर्दै भनेका छन्, ‘अमेरिकी दावीलाई लिएर मलाई कुनै प्रतिक्रिया दिनु छैन । यस्तो खालको बयान निरन्तर आइरहने छ र तथ्य सामुन्ने नआउन्जेल यो मात्र बकवास हो ।

म्युनिक सेक्युरिटी कन्फ्रेसमै अमेरिकी राष्ट्रिय सुरक्षा सल्लहाकार एचआर मेकमास्टरले भने, ‘अभियोगले सपष्ट पारेको तथ्यलाई खारेज गर्न सकिन्न ।’ यद्यपि व्हाइट हाउसस्थित उच्च अधिकारीहरुले यो समाचारको खण्डन गर्दै गलत भएको प्रतिक्रिया दिदैं आएका छन् । तर शुक्रबार सार्वजनिक भएको एफबीआईको अभियोगले सपष्ट पार्छकी यो विषय पुरै गलत भन्ने व्हाइट हाउसस्थित उच्च अधिकारीहरु र रुसको दावीमा सत्यता छैन ।

राष्ट्रपति ट्रंपले ट्विट गरेर भनेका छन्, ‘रुसले अमेरिका विरोधी अभियान २०१४ मा सुरु गर्यो । यो घटना मेरो राष्ट्रपति चुनावमा उम्मेदवार हुनु भन्दा धेरै अघिको कुरा हो । चुनाव परिणाममा यसले कुनै प्रभाव पारेको छैन । ट्रंपको चुनावी अभियानमा कुनै पनि गलत काम भएको छैन र यस्तो खालको विरोधाभाषपूर्ण कार्य भएको थिएन र छैन पनि ।’
तर यो विषय यतिमै सकिन्न । रुसले पहिचान लुकाउनका लागि शेल फर्म र आइडी चोर्नु र प्राइभेट नेटवर्क प्रयोग गर्नुले अमेरिकी राष्ट्रपति निर्वाचनमा रुसी संलग्नतालाई थप संदिघ्ध बनाएको छ र रुस र अमेरिकाको विस्वासको जग फेरी एकपटक डिजिटल शीत युद्ध मार्फत हल्लिएको छ ।

अमेरिकी राष्ट्रपति निर्वाचनमा प्रभाव पार्ने संस्था रुसको आईआरएको नेतृत्व र काम:

मीखाइल वेस्त्रोव (सीईओ): अवकास प्राप्त कर्नेल सेन्ट पिटस्बर्ग प्रहरी । अभियोगपत्र अनुसार मीखाइल वेस्त्रोवले फरवरी २०१४ मा यो कम्पनी प्रवेश गरेर यो कम्पनीको नेतृत्व सम्हाले र कम्पनीको गतिविधि बधाउन शेल कम्पनीलाई आधार बनाए ।

मीखाइल बर्चिक (एक्जुकेटीव डाइरेक्टर): अभियोगपत्र अनुसार मीखाइल बर्चिकले योजनाको अप्रेसन मेनेजरको रुपमा नेतृत्व सम्हाले जसले अप्रेसनको योजना, संसाधन र प्रयोग गर्ने विधि बारे निगरानी राख्ने काम गरे ।

ट्रोल फेक्ट्री: यो रुसी राष्ट्रपति पुटिनको शहर सेन्ट पिटस्बर्गमा रहेको छ । यो कम्पनीको मूख्य काम इन्टरनेट रिसर्च एजेन्सी, ब्लगर र अनलाइन कमेण्टरको सेवा लिदै रुस र लक्षित देशहरुमा जनमतलाई प्रभावित पार्न सकियोस भन्ने उद्धेश्यमा केन्द्रित छ । कम्पनीले ति तमाम अमेरिकीको नाममा अनलाइन विज्ञापन बुकिङ्ग गर्यो जसलाई उनीहरुले चोरी गरेका थिए । र आफुलाई अमेरिकी अगुवा सामाजिक कार्यकर्ता बताउदै र्याली आयोजना गर्ने पोस्ट गरे । यसका अतिरिक्त अमेरिकी नागरिकलाई यस्तो कामका लागि पैसा दिने काम समेत गरियो जसले हिलारीको छबि धुमिल बनाउन सहयोग पुर्याओस ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...