Tuesday, February 13, 2018

प्रेमदिवस -नदिया लिवाङ, न्यूयोर्क

जीवनका उकाली–ओरालीहरूमा
साना–तिना कुराहरूमा पनि
म रिसाएँ होला, झर्किएँ होला, अल्झिएँ होला
कहिले अन्जानमै कहि कतै अल्मलिएँ होला
तर पनि
हामीबीचको विश्वासको पहाड ढल्न दिएकी छैन
तिमीप्रति समर्पित सधैँ
प्रणयको आलिङ्गनमा बाँधिएकै छु हरपल,
सुख–दुःखको भूमध्यरेखामा
ढलपल नगरी उभिएका हामी
यदि एकअर्काका विश्वासका धरोहरहरू हौ भने
किन मनाऊँ म
बर्षैपिच्छे आउने एकदिनको यो प्रेमदिवस ?

आफ्नै संसारमा हराउँदै हामी
हररात जूनकीरीझैँ नाचिरहेका हुन्छौँ
हरेक श्वासप्रश्वासमा हराइरहेका हुन्छौ
यसरी म मनाइरहेकी हुन्छु प्रेमदिवस
समाहित भएर तिम्रै प्रेमिल मुटुको ढुकढुकीमा !

थाह छ मलाई
मैले तिमीलाई प्रेमदिवसमा दिएको रातो गुलाब
सुकेर झर्नेछ केही दिनमै
अनि, न रहने छ सुगन्ध, न रहने छ सौन्दर्य
सँगसँगै अस्तित्व पनि मेटिएर जानेछ गुलाबको
अहँ !
तिमीलाई चुँडेर दिन सक्तिनँ म
मेरो घरको शोभा बढाइदिने प्रिय फूलहरू !

मेरो घरको आँगनमा मुस्कुराइरहेका
निर्दोष फूलहरू चट्ट चुँडेर
म कहाँ सुम्पिन सक्छु र तिम्रो छातिमा !

मलाई माफ गर प्रिय
म फूलहरूलाई यत्ति माया गर्छु कि
ती त मेरा हितैषीहरू हुन्
मेरा खुसी, मेरा उमङ्गहरू हुन्
जो दिनहूँ चुपचाप
मैले लेखेका कविता
मैले गुनगुनाएका गीत सुनिरहन्छन्
मलाई निस्वार्थ प्रेम गरिरहन्छन् ।

हरेक बिहान
तिमीले दिएको सिन्दुर र टीका लगाएर
तिम्रो दीर्घायू र सफलताको कामना गर्दै
सुरु हुन्छ मेरो दैनिकी
मेरो लागि त यही त हो प्रेमदिवस !

तिम्रो प्रेमकी एउटी उपासिका म
तिम्रो जीवनकी अर्धाङ्गिनी म
तिमीमै पूर्ण समाहित म ।

एक दिन त
फूलजस्तै यौवन पनि त मुर्झाएर जान्छ,
दिनदिनै फुल्दै गरेको केश
चाउरी बढ्दै गएको तिम्रो गाला र निधारलाई पनि
म प्रेम गर्छु सुरुका दिनहरूमा जत्तिकै
र, सुम्सुम्याउँछु स्नेहले
आह ! कत्ति न्याना लाग्छन् तिम्रा भावनाहरू !

हररात अनिदा ती आँखाहरू
खानै नपाएर उपबास बस्न बाध्य पेट
पटुकी कस्दै गिट्टी कुटिरहेका ती हातहरू
कठ्याङ्ग्रिने जाडोमा लगलगी काप्दै
चिसो सडकमा हिँडिरहेका खाली पैतालाहरू
उफ् !
कहिले आउँला यिनीहरूको जीवनमा प्रेमदिवस ?

भन त प्रिय !
यस्तो बेला
हाँसिरहेका फूलहरूको जीवन चुँडेर
आधुनिक शहरको कुनै महँगो रेष्टुराँमा
कसरी मनाउन सक्छु म प्रेमदिवस ?

प्रेमदिवस !
म त्यस दिन मनाउने छु
जुन दिन यो संसारमा
कोही पनि भोका–नाङ्गा रहने छैनन्
कोही पनि नारी पतिवियोगमा
विलाप गरिरहेका हुने छैनन्
सन्तान वियोगमा आमाहरू
आँसुका नदीहरू बगाइरहेका हुने छैनन्
विछोडको कथा सुनाउँदै कुनै पनि वर–पीपल
फलैँचा रूङ्गिरहेका हुने छैनन् !

प्रिय !
मृत्युले नअँगालेसम्म
तिम्रो न्यानो माया
र समर्पणका दुबोहरूमाथि लडिबुडी गर्दै
म मनाइरहने छु प्रेमदिवस
यदि पुनर्जन्म सत्य हो भने
जनम्–जनम् हर पल, हर दिन
मनाइरहन पाऊँ प्रेमदिवस
लगाएर तिम्रो नामको सिन्दुर र टीका
हराएर तिम्रो ढुकढुकीमा ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...