
शिशिर सिंखडा
भरतपुर, चितवन, ४ फागुन ।
६८औं राष्ट्रिय प्रजातन्त्र दिवश चितवनमा ३ दिनसम्म भव्य रुपमा मनाइने भएको छ । जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्ण कुमार डल्लाकोटीको अध्यक्षतामा बसेको बृहत् बैठकले यहि फागुन ६, ७ र ८ गते भव्य रुपमा प्रजातन्त्र दिवश मनाउने निर्णय भएको हो । जिल्ला प्रमुख डल्लाकोटीको अध्यक्षतामा १ सय ५१ सदस्यीय मुल समारोह समिति समेत गठन गरिएको छ । स्थानीय तहका प्रमुख, प्रमुख जिल्ला अधिकारी, सरकारी कार्यालयका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु, जिल्ला स्थित राजनीतिक दलका पार्टी प्रमुखहरु, नेपाल पत्रकार महासंघ सहित सदस्य रहेको सो मुल समारोह समितिले जिल्लामा भव्य रुपमा प्रजातन्त्र दिवश मनाउन ३ दिनसम्म साँझ दिपावली गर्ने समेत निर्णय गरिएको जिल्ला समन्वय समिति चितवनका प्रमुख डल्लाकोटीले जानकारी दिए । प्रजातन्त्र दिवशको दिन फागुन ७ गते बिहान ७ बजे प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको र सोही दिन दिउसो खेलकुद विकास समितिको आयोजनामा भरतपुर स्थित कभर्ड हलमा खेलकुद कार्यक्रमको समेत आयोजना गरिएको छ । सो ६८औं प्रजातन्त्र दिवश मुल समारोह समितिले सूचना तथा प्रचार प्रसारको लागि नेपाल पत्रकार महासंघ चितवन शाखालाई सदस्यको रुपमा तोकिएको समेत बताइएको छ ।
No comments:
Post a Comment