Friday, February 16, 2018

चितवनको रेडक्रसग्राम स्कुलमा वार्षिकोत्सव, विद्यालयमा सहयोग गर्ने दातालाई सम्मान

खोलेसिमल, चितवन, ४ फागुन ।
चितवनको कालिका नगरपालिका वडा नं. ६ स्थित आधारभूत विद्यालय रेडक्रसग्रामको २८औं वार्षिकोत्सव समारोह एवम् गेट शिलान्यास कार्यक्रममा विद्यालयको स्थापना गर्न, स्तरोन्नती गर्न एवम् विभिन्न समयमा सहयोग गर्ने सहयोगीदाताहरुलाई सम्मान गरिएको छ ।

विद्यालयका संस्थापक अध्यक्ष स्वर्गीय चक्र बहादुर के.सी., संस्थापक प्रधानाध्यापक अबोध किशोर राय यादव, पूर्व प्रधानाध्यापक बासुदेव अर्याल, पूर्व संस्थापक शिक्षक स्वर्गीय रामकाजी श्रेष्ठ र विद्यालयलाई आर्थिक सहयोग गर्ने उदयपुर सामुदायिक वनलाई समेत सम्मानित गरिएको थियो । कार्यक्रममा विद्यालयका पूर्व अध्यक्ष चेत बहादुर थापा, लायन्स क्लव अफ चितवन कालिका, नेपाल–जापान फ्रेण्डसीप लायन्स क्लव त्यस्तैगरी शिक्षिका यशोदा रेग्मी, सहयोगीदाता जागेश्वर पाण्डे र गोविन्द प्रसाद आचार्यलाई प्रशंसा पत्रले सम्मानित गरिएको थियो । सोही कार्यक्रमको अवसरमा विद्यालयको गेट निर्माणको लागि शिलान्यास समेत गरिएको थियो ।

विद्यालयको २८औं वार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथि कालिका नगरपालिका नगर प्रमुख खुमनारायण श्रेष्ठले नगर क्षेत्र भित्रका शैक्षिक संस्थाको स्तरोन्नती र शैक्षिक उन्नतिको लागि नगरपालिकाले योजना बनाई सहयोग गर्ने बताए । कार्यक्रममा चितवनका जिल्ला शिक्षा अधिकारी मनोज गैरे, नगर शिक्षा अधिकारी नारायण वाग्ले, श्रोतव्यक्ति राजेन्द्र ढकाल, कालिका नगरपालिका वडा नं. ६ वडाध्यक्ष बिनोद रेग्मी, नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष हरि कंडेल, नेपाल शिक्षक संगठनका पूर्व जिल्ला अध्यक्ष पूर्ण बहादुर पुरी, नेपाल शिक्षक संगठनका जिल्ला प्रतिनिधि खोम बहादुर गुरुङ्ग, अखिल नेपाल शिक्षक संघका प्रतिनिधि लेखनाथ भट्ट, नेपाल शिक्षक महासंघ कालिकाका अध्यक्ष जीत बहादुर भट्टराई, विद्यालयका पूर्व प्रधानाध्यपक बासुदेव अर्याल, उदयपुर सामुदायिक वनका अध्यक्ष केशव लामा, पृथ्वी मा.वि.का प्राचार्य गंगाराम गुरुङ्ग, विद्यालयका शिक्षक दिपक लामिछाने लगायतले कार्यक्रममा मन्तव्य व्यक्त गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेशम बहादुर राना मगरको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका सहायक प्राचार्य सहदेव लकान्द्रीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने विद्यालयका प्राचार्य नन्दलाल लामिछानेले विद्यालयको प्रगति प्रतिवेदन तथा भावी कार्यक्रमहरु प्रस्तुत गरेका थिए । स्थानीय सुकुम्बासी, दलित, पछाडी पारिएका वर्गहरुका ३ सय ४२ जना विद्यार्थीहरु सो विद्यालयमा अध्ययनरत छन् । सोही कार्यक्रममा विद्यालयद्वारा आयोजित विभिन्न प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । वार्षिकोत्सव कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले गीत तथा नृत्यहरु प्रस्तुत गरेका थिए ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...