नयाँदिल्ली, ११ चैत । भारतीय क्रिकेट खेलाडी ऋदिमान साहाले टी–ट्वान्टी क्रिकेटमा नयाँ कीर्तिमान कायम गरेका छन् ।
साहाले सबैभन्दा छिटो शतक पूरा गर्ने खेलाडी बनेका छन् । जेसी मुखर्जी ट्रफीमा साहाले २० बलमा १०२ रन बनाएका हुन् ।
उनले सन् २०१३ को वेष्ट इन्डिजका क्रिस गेलको कीर्तिमान भंग गरे । गेलले २०१३ को इन्डियन प्रिमियर लिगमा पुणेविरुद्द ३० बलमा शतक पूरा गरेका थिए ।
साहाले जारी जेसी मुखर्जी ट्रफीमा शनिबार मोहन बगान र बिएनआर रिक्रिएसन क्लवबीचको खेलमा कीर्तिमानी ब्याटिङ गरेका हुन् ।
१०२ रन बनाएका साहाले १४ छक्का र ४ चौका प्रहार गरे । उनको स्ट्राइक रेट ५१० रह्यो । मोहन बगानका तर्फबाट ब्याटिङ गरेका साहाको टिमले बिएनआरको १५२ रनको लक्ष्य बिना विकेट क्षति पूरा गरेको थियो ।
साहा भारतको राष्ट्रिय टिमका विकेटकिपर पनि हुन् । भारतीय टिमका पूर्व कप्तान महेन्द्रसिंह धोनीले टेस्ट क्रिकेटबाट सन्यास लिएपछि उनले नियमित स्थान पाउँदै आएका छन् ।
आइपीएलको पूर्वसन्ध्यामा भएको साहाको प्रदर्शनलाई भारतीय मिडियाले महत्त्वका साथ हेरेका छन् । साहा आइपीएलमा सनराइजर्स हैदराबादमा आबद्ध छन् ।
No comments:
Post a Comment