काठमाडौँ, १३ चैत । भावी प्रधानन्यायाधीशका लागि न्याय परिषद्ले सर्वोच्च अदालतका वरिष्ठतम मध्येका ३ जना न्यायाधीशको अभिलेख संवैधानिक परिषद्मा पठाउने निर्णय गरेको छ ।
मंगलबार बसेको न्याय परिषद् बैठकले पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामापछि रिक्त रहेको प्रधानन्यायाधीश पदका लागि सर्वोच्च अदालतका वरिष्ठ मध्येका कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी, न्यायाधीशद्वय ओमप्रकाश मिश्र र चोलेन्द्र शम्सेर राणाको नाम संवैधानिक परिषद्मा पठाएको हो ।
नेपालको संविधानको धारा २८४ को उपधारा ३ बमोजिम न्यायपरिषद्ले अभिलेख पठाएपछि संवैधानिक परिषद्ले प्रधानन्यायाधीशको सिफारिस गर्ने व्यवस्था छ । उक्त धाराबमोजिम संवैधानिक परिषद्ले प्रधानन्यायाधीश वा संवैधानिक निकायका कुनै प्रमुख वा पदाधिकारीको पद रिक्त हुनुभन्दा एक महिना अगावै नियुक्तिका लागि सिफारिस गर्नुपर्नेछ भन्ने उल्लेख गरिएपनि प्रधानन्यायाधीश पराजुलीको एक महिना अगावै वहिर्गमन भएपछि संवैधानिक परिषद्ले कानुनमन्त्रीको उपस्थितिमा प्रधानन्यायाधीश सिफारिस गर्नेछ ।
संवैधानिक परिषद्को सिफारिसपछि संसदीय सुनुवाई विशेष समितिबाट अनुमोदन भएपछि मात्रै राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक प्रावधान छ । प्रधानन्यायाधीशका लागि सर्वोच्च अदालतमा तीन वर्ष काम गरेको पुग्नुपर्ने व्यवस्था छ । सिफारिस गरिएका तीनै जना तीन वर्ष कार्यकाल पूरा भएका न्यायाधीश हुन् ।
No comments:
Post a Comment