Wednesday, April 11, 2018

तामाकोशी आयोजना तोकिएको समयमै पूरा गर्न प्रधामन्त्रीको निर्देशन

चरिकोट, २८ चैत: प्रधानमन्त्री केपी शर्मा ओलीले दोलखाको बिगु गाउँपालिका–१ मा निर्माणाधिन माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको आज स्थलगत अनुगमन तथा निरीक्षण गर्दै कर्मचारीलाई तोकिएको समय तालिकाभन्दा एक दिन ढिलाई नगरी आयोजना सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री ओलीले बहुचर्चित ४५६ मेगावाटको सो आयोजनाको सुरुङ मार्ग र बाँधस्थलको आज अनुगमन तथा निरीक्षण गर्दै आयोजनाका कर्मचारीले गैरजिम्मेवारी देखाउने र लापरबाही गर्ने काम वर्तमान सरकारले हुन नदिने बताउँदै देश विकासमा सहयोग पु¥याउन आग्रह गर्नुभयो ।

उहाँले आयोजनाको ढिलाइले दैनिक रु चार करोड घाटा भइरहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले ऊर्जा मन्त्री, ऊर्जा सचिव, विद्युत प्राधिकरणका कार्यकारी निर्देशक समेतलाई सँगै राखेर आयोजनाका कर्मचारीलाई आयोजना निर्माणका क्रममा कुनै समस्या वा बाधा अड्चन आए सिधैं आफूलाई खबर गर्न आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले अहिलेको सरकार नयाँ ढंगका साथ नयाँ गति र नयाँ योजनाका साथ अगाडि बढेको बताउँदै समृद्ध नेपाल निर्माणका लागि आत्मविश्वासका साथ अगाडि बढेकाले सरकारको कुनै पनि अंगबाट विकास निर्माण कार्यमा समस्या नआउने उल्लेख गर्नुभयो ।

आयोजना निर्माणमा चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोले केही ढिलाई गरिरहेकाले समस्या समाधान गर्न प्रधानमन्त्री ओलीले आफूसँगै चिनियाँ राजदूत यु होङलाई समेत साथै लैजानुभएको थियो ।

राजदूत यु होङले आयोजनाको काममा ढिलाईबारे चासो प्रकट गर्दै सिनो हाइड्रो कम्पनीका मुख्य व्यक्तिहरुसँग छलफल गरेर टुङ्ग्याउने बताउनुभयो ।

अनुगमनमा ऊर्जामन्त्री वर्षमान पुनले आयोजना सरकारको उच्च प्राथमिकतामा रहेको बताउँदै समयमानै निश्चित तालिकाभित्र निर्माण सम्पन्न हुनैपर्ने बताउनुभयो ।

हालसम्म आयोजनाको ९४ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले बताउनुभयो । आयोजनाको वित्तीय व्यवस्थापन र मोडल तथा अन्य विषयबारे आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञानराज श्रेष्ठले आयोजनाको हालसम्मको अवस्थाबारे प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको थियो । श्रेष्ठले आयोजनाको काम केही चुनौतीपूर्ण रहेको र चरिकोट लामासाँगु सडक क्षतिग्रस्त रहेका कारण आयोजना निर्माण सामग्री ढुवानीमानै समस्या भएको बताउनुभयो । श्रेष्ठले चिनियाँ कम्पनी र भारतीय ठेकेदार कम्पनीले गरेको कार्य प्रगतिजनक नभएको भन्दै ठेकेदार कम्पनी ठेक्सनाको रेलवये इन्जिनियरिङलाई कूटनीतिक तहबाट चाँडो कार्य सम्पन्न गर्न सरकारले अनुरोध गरिदिन प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको थियो ।

आयोजना भूकम्प र नाकाबन्दीका कारण दुई वर्ष पर धकेलिएको छ । आयोजनाले आगामी २०७५ साल पुस मसान्तसम्म पहिलो युनिटबाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ भने सबै छबटा युनिटबाट विद्युत उत्पादन २०७६ साल वैशाखबाट गर्ने बताइएको छ ।

आयोजनाको हालसम्मको लागत रु ३७ अर्ब ७१ करोड रहेको बताइएको छ भने आयोजना सम्पन्न हुँदासम्म लागत रकम रु ४९ अर्ब २९ करोड पुग्ने प्रवक्ता न्यौपानेको भनाइ छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...