Wednesday, April 11, 2018

मुलुकलाई समृद्ध बनाउने अभियानमा लाग्न प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौँ, २८ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले स्वाभिमानी देश, व्यावहारिक लोकतन्त्र, विविधतासहितको राष्ट्रिय एकता र स्थायित्वले मात्र मुलुकले समृद्धि हासिल गर्न सक्ने भएकाले त्यसतर्फ लाग्न उद्योगी व्यवसायीलाई आग्रह गर्नुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघको ५२ औँ वार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले निर्धक्क भएर मुलुकलाई समृद्ध बनाउने अभियानमा लाग्न आग्रह गर्नुुभयो ।

व्यावसायिक क्षेत्रले सरकारको भावना बुझेको आफ्नो विश्वास रहेको बताउँदै प्रधानमन्त्री ओलीले मुलुकको अर्थतन्त्रलाई माथि उठाउन सकारात्मक योगदान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सार्वजनिक तथा निजी क्षेत्रको सहकार्यबाट समृद्धि प्राप्तिको लक्ष्य पूरा हुने विश्वास पनि व्यक्त गर्नुभयो ।

उद्योग वाणिज्य महासंघले प्रत्येक प्रदेशमा सञ्जाल विस्तार गरेर औद्योगिक प्रवद्र्धनमा लागेकामा खुशी व्यक्त गर्दै प्रधानमन्त्री ओलीले हरेक क्षेत्रमा समृद्धि प्राप्तिका खातिर सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “हरेक क्षेत्रलाई औद्योगिकीकरण गर्नुपर्छ । कृषि, वन एवं देशमा उपलब्ध साधन र स्रोतलाई इन्नोभेटिभ तवरले आगाडि बढाउनुपर्छ, त्यसका लागि सरकार निजी क्षेत्रलाई सघाउन तयार छ ।”

देशको अर्थतन्त्रलाई चौतर्फी ढंगबाट आधुनिकीकरण गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले पछिल्लो पुस्ताको प्रविधिमा आधारित भएर मुलुकको औद्योगिक क्षेत्रलाई अगाडि बढाउनुपर्ने सुझाव दिनुभयो ।

मुलुक पछौटेपनामा रुमलिनु दःुखद् भएको भन्दै उहाँले विश्वव्यापी स्तरमा नेपालले गरेका प्रतिबद्धता पूरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “सन् २०२२ सम्ममा विकासशील मुलुक र सन् २०३० सम्ममा दिगो विकासको लक्ष्य पूरा गर्नैपर्छ । त्यसमा सकिएन भन्ने छुट हुने छैन ।”

सरकारले आर्थिक नीति तय गर्दा उद्योग वाणिज्य क्षेत्रसँग परामर्श गरेर अगाडि बढ्ने विश्वास दिलाउँदै उहाँले उद्योग वाणिज्य क्षेत्रलाई यथोचित सहयोग गर्न आवश्यक पर्ने ऐन, प्रशासनिक एवं व्यावहारिक पक्ष सबैमा सुधार गर्न सरकार तयार छ भन्नुभयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले ऊर्जा विकास, एकद्वार प्रणाली लागू, पुराना कानुन संशोधन तथा खारेजी, व्याजदरमा सुनिश्चितता र दोहोरो कर तिर्न नपर्ने व्यवस्था लागू गर्न सरकारसँग आग्रह गर्नुभयो ।

समृद्धिको बाटोमा सरकारसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष राणाले त्यसका लागि उचित वातावरण आवश्यक भएको बताउनुभयो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी एवं जिल्लाका प्रतिनिधिहरुका उपस्थिति थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...