ललितपुर, ९ वैशाख : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कायम गर्न जनप्रतिनिधिको महत्वपूर्ण भूमिका हुने बताएको छ ।
आयोग र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज जावलाखेलमा आयोजना गरेको एक दिवसीय कार्यक्रममा आयोगका पदाधिकारीले सुशासन कायम गर्न-गराउन नगरपालिका एवम् गाउँपालिकाका प्रमुख र उपप्रमुखको महत्वपूर्ण भुमिका हुने बताएका हुन् ।
आयोगका आयुक्त सावित्री थापा गुरुङले नागरिकको अधिकार स्थापित गर्ने जिम्मेवारी स्थानीय निकायको भएको बताउनुभयो । उहाँले स–साना लोभमा नपर्न स्थानीय निकायका कर्मचारीलाई अनुरोध गर्नुभयो । अहिले स्थानीय निकायमा महिला सहभागिता आशालाग्दो छ । उहाँ भन्नुहुन्छ, “आगामी निर्वाचनमा ५० प्रतिशतसम्म महिला प्रमुख पुग्नुपर्छ ।”
आयोगका अर्का आयुक्त डा गणेशराज जोशीले स्थानीय निकायले जनशक्तिको कमी र पूर्वाधारको अभाव भोगिरहेको बताउनुभयो ।
अख्तियार विकास विरोधी नभएको बताउँदै उहाँले भन्नुभयो, “विगतमा आयोग विकास विरोधी देखिएको थियो त्यो परिवर्तन गर्न चाहन्छौँ ।”
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव सुरेश अधिकारीले स्थानीय निकाय पारदर्शी बन्नुपर्नेमा जोड दिँदै स्थानीय निकायमा देखिएको कर्मचारी अभाव छिटै समाधान हुने बताउनुभयो ।
कार्यक्रममा प्रदेश नं ३ का स्थानीय निकायका प्रमुख र उपप्रमुखको सहभागिता रहेको थियो ।
No comments:
Post a Comment