Saturday, June 2, 2018

ह्याण्ड पम्प गाड्ने पैसा नहुँदा एक दशकदेखि नदीको पानी पिउन बाध्य

कञ्चनपुर, १९ जेठ । खानेपानीको विकल्प नहुँदा शुक्लाफाँटा नगरपालिका–९ नौखरीको राना परिवारले बस्ती नजिकै भएर बग्ने सनवोरा नदीको पानी पिउनका लागि उपयोग गर्दै आएका छन् ।

थोरै पैसाले ह्याण्ड पम्प गाड्न नसकिने भएपछि रानाको परिवारले नदीको पानी प्रयोग गर्दै आएको छ । रानाजस्तै यहाँका २० परिवारले एक दशकदेखि नदीको पानी पिउन बाध्य छन् । “नदीको पानी अशुद्ध छ भनेर जान्दाजान्दै पनि बाध्यताले पिउनु परेको छ”, छोटीदेवी रानाले भन्नुभयो, “थोरै गहिराइमा ह्याण्ड पम्प गाड्दा पानी आउँदैन । गहिरो गाड्नका लागि आर्थिक अवस्थाले भ्याउँदैन ।”

नदीको पानी पिउँदा पखाला, आउँलगायत पानीजन्य रोग हुने गरेको छ । विभिन्न निकायमा सुरक्षित पानीको व्यवस्था गरिदिन माग गर्दै आए पनि हालसम्म नभएको सुम्ली रानाले बताउनुभयो । कमैयाबाट मुक्त भएपछि पुनःस्थापन गराइएका परिवार बस्तीमा बस्दै आएका छन् । बस्तीका सबै परिवारसँग साँझ बिहानको खाना जुटाउनका लागि मजदूरी एक मात्रै सहाराका रुपमा रहेको छ ।

“मजदूरीको पैसाले परिवारको खाना जुटाउन निकै गाह्रो छ” गोरे खत्रीले भन्नुभयो, “ह्याण्ड पम्प गाड्नका लागि कम्तीमा पनि रु ५० हजार बढी खर्च लाग्ने हुन्छ, त्यो जुटाउन बस्तीका बासिन्दाको आर्थिक हैसियतले धान्दैन ।”

वर्षात्का बेला धेरै परिवारले धमिलो पानीलाई भाँडामा जम्मा गरी थिग्रिएपछि पिउनका लागि प्रयोग गर्दै आएका छन् । केहीले दुई किलोमिटर टाढाको बस्तीबाट बोकेर पानी ल्याई पिउँछन् । लुगा धुन र वस्तुभाउलाई पानी खुवाउन यहाँका बासिन्दाले नदीको पानी नै चलाउँछन् । नगरपालिका वडा नं ९ का वडाध्यक्ष रमेशबहादुर ऐर बस्तीमा पानीको व्यवस्था नभएको कुरा पहिलादेखि नै थाहा भएकाले अब यहाँका बासिन्दाले सास्ती खेप्नु नपर्ने बताउनुहुन्छ ।

“पानीको व्यवस्था नभएको सो बस्तीमा छ वटा स्वचालित ह्याण्ड पम्प गाड्ने योजना रहेकाले आउँदो आवभित्रै ती कार्य पूरा गर्छौं”, उहाँले भन्नुभयो, “विगतमा पानीकै लागि यहाँका बासिन्दाले निकै सास्ती खेपेका छन् । शुद्ध पेयजल उपलब्ध गराई जनप्रतिनिधि आएको विश्वास यहाँका बासिन्दालाई दिन चाहन्छौँ ।”

वडाध्यक्ष ऐर युवा र जागरुक भएकाले बस्तीमा पानीको व्यवस्था हुनेमा ढुक्क भएको स्थानीयवासी विक्रम थापा बताउनुहुन्छ । चुनावकै बेला उहाँले पानीको व्यवस्था गर्ने प्रतिबद्धता गरेकाले पूरा गर्नुपर्ने उहाँको भनाइ छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...