Friday, June 1, 2018

तस्करी सञ्जाल तोड्ने दायित्वबाट सरकार पछि हट्दैन : गृहमन्त्री थापा

विराटनगर, १८ जेठ । गृहमन्त्री रामबहादुर थापाले आगामी वर्ष मुलुकको आर्थिक वृद्धि दर आठ प्रतिशत पुग्ने बताउनुभएको छ ।

प्रेस चौतारी र प्रेस सेन्टर मोरङद्वारा संयुक्त रुपमा शुक्रबार यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले सरकारद्वारा गत मंगलबार प्रस्तुत बजेटले मुुुलुकमा विकास र समृद्धि कायम भई आगामी केही वर्षभित्र आर्थिक वृद्धि दर दुई अंक भन्दा बढी कायम हुने विश्वास व्यक्त गर्नुभयो ।

गृहमन्त्री थापाले प्रधानमन्त्रीको हालैको भारत भ्रमण र आगामी दिनमा हुने चीन भ्रमणबाट वैदेशिक सम्बन्ध थप सुढृढ हुने बताउँदै यसबाट मुलुकमा विकास र समृद्धि कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने आशा व्यक्त गर्नुभयो । मुलुकमा केही वस्तुको मूल्य वृद्धि आन्तरिक कारण नभै अन्तर्राष्ट्रिय बजारका कारणले भएको उल्लेख गर्दै उहाँले कालोबजारी हुनै नदिन र भएपनि त्यसको नियन्त्रणका लागि वर्तमान सरकार दृढ संकल्प रहेको छ भन्नुभयो ।

गृहमन्त्री थापाले प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउनका लागि प्रर्याप्त बजेट विनियोजन गरिएको बताउँदै समयमा आफ्नो जिम्मेवारी पूरा नगरी विकास निर्माण कार्यमा अवरोध उत्पन्न गर्ने गराउने ठेकेदारलाई कारवाही गर्न सरकार पछाडि नपर्ने धारणा व्यक्त गर्नुभयो ।

अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी भएको सम्बन्धमा छानबीन आयोगले आफ्नो कार्य गरिरहेको छ, उहाँले भन्नुभयो, “तस्करी सञ्जाललाई तोडी आपराधिलाई न्यायको कठघारामा उभ्याइने दायित्वबाट सरकार पछि हट्दैन ।” गृहमन्त्री थापाले शिक्षा, स्वास्थ्य, निर्माण र कृषि लगायत सबै क्षेत्रमा देखिएकोे सिण्डिकेटको अन्त्य गरिने बताउँदै स्वच्छ प्रतिस्पर्धाका आधारमा जनतालाई गुणस्तरीय सेवा र सामान उपलब्ध गराउनका लागि सरकार प्रतिबद्ध छ भन्नुभयो ।

नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) को एकीकरणबाट मुलुकमा विकास र समृद्धि कायम हुने उहाँले प्रष्ट पार्नुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...