Monday, December 28, 2015

बढी मूल्य नलिन औषधि व्यवसायीलाई सचेत

धुन्चे (रसुवा), १४ पुस । मानव जीवनसँग प्रत्यक्ष सरोकार रहेको औषधि बिक्री वितरणमा रसुवाका औषधि व्यवसायीले निर्धारितभन्दा बढी मूल्य लिनबाट सचेत गराइएको छ ।

औषधि व्यवस्था विभागबाट यहाँ आएको अनुगमन टोलीले औषधि पसलको निरीक्षण गर्दा केही पसलबाट तोकिएको मूल्यभन्दा बढीको नयाँ स्टिकर टाँसी औषधि बिक्री वितरण गरेको पाइएको हो ।

हिमाली क्षेत्र भएका कारण बढी मूल्य लिई औषधि बिक्री वितरण गर्ने व्यवसायीलाई तोकिएको मूल्यभन्दा बढी रकम नलिन पहिलो पटकलाई सचेत गराइएको अनुगमन टोलीका अगुवा फार्मेसी अधिकृत राम शर्मा पौडेलले बताउनुभयो ।

टोलीले बेत्रावती, कालिकास्थान, जिबजिबे, धुन्चेलगायत औषधि पसलमा दर्ता, प्यान तथा भ्याटमा दर्ता भएका कागजपत्र र औषधिका उपयोग मितिसमेत अनुगमन गरेको थियो ।

कुनै पनि व्यवसायीका लागि औषधिको बिक्री मूल्यमै नाफा राखिएको हुन्छ । बढी मूल्य लिन नपाउने प्रावधान छ । बट्टामा लेखिएको भन्दा बढी मूल्य लिएको पाइएमा जिल्ला प्रशासन, जिल्ला प्रहरी, जिल्ला स्वास्थ्य कार्यालय वा औषधि व्यवस्था विभागमा खबरगरी मूल्य स्थिरता राख्ने कार्यमा सहयोग गर्न सम्पूर्ण औषधि खरिदकर्ता समक्ष आग्रह गरिएको अधिकृत पौडेलले बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...