Saturday, December 5, 2015

निजी क्लिनिकको मनपरी

गाईघाट (उदयपुर), १९ मङ्सिर । उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रलगायत कटारी तथा बेल्टार क्षेत्रका निजी क्लिनिकले बन्दको कारण देखाउँदै बिरामीबाट सामान्य उपचारमा पनि महँगो शुल्क लिन थालेका छन् ।

औषधिको अभाव भएको भन्दै सामान्य बिरामीको उपचारमा स्थानीय केही क्लिनिकले ज्यादै महँगो शुल्क लिएर बिरामी ठग्ने गरेको बिरामीका आफन्तको गुनासो छ ।

स्थानीय प्रशासन तथा सम्बन्धित निकायको अनुगमन नहुँदा अहिले कटारी क्षेत्रमा सबैभन्दा बढी निजी क्लिनिकमा बिरामी ठगिनु परेको कटारी मरुवा खोलाका माया थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “दुईदिन अघिमात्र कटारीका एक स्थानीय क्लिनिकमा झाडापखालाको कारण बहिनीको उपचार गर्दा दुई बोतल ‘सलाइन पानी’ चढाएको रु पाँच हजार तिर्नुपर्‍यो ।”

कतिपय क्लिनिक सञ्चालकले बिरामीको सामान्य चेकजाँच गरेको मात्र तीन हजारदेखि रु सात हजारसम्म लिन थालेको कटारी–५ का डम्बरबहादुर तामाङको गुनासो छ । कतिपय निजी क्लिनिकले बाहिर बोर्डमा डाक्टरको नाम राखेर भित्र भने सामान्य अहेव तथा निम्न तहका स्वास्थ्य कर्मचारीबाट बिरामीको स्वास्थ्य परीक्षण गराउने गरेको र डाक्टरबाट परीक्षण भएको भनी बिरामीलाई झुटो कागज बनाउने गरेको बिरामीका आफन्त बताउँछन् ।

सामान्य बिरामीलाई एकपटक चेकजाँच गर्दासमेत क्लिनिकले रु तीन हजारभन्दा बढी बिरामीबाट असुल्ने गरेको बेल्टार–५ माणिवासका खगेन्द्रराज खड्काको भनाइ छ । उहाँ भन्नुहुन्छ, “स्थानीय सरकारी अस्पतालमा औषधिको अभाव भएका कारण अहिले बिरामी निजी क्लिनिकमा जान बाध्य छन्, तर बिरामीको चाप बढेसँगै निजी क्लिनिकले महँगो शुल्क असुल्न थालेका छन् ।”

प्रशासन तथा सम्बन्धित निकायले यसरी मनपरी ढङ्गबाट सञ्चालन भएको क्लिनिकको अनुगमन नगर्दा अहिले जिल्लाको कटारी र बेल्टार क्षेत्रमा क्लिनिकमा बिरामी ठगिने क्रम जारी छ । बिरामीका आफन्तहरु भन्छन्, “सरकारी अस्पतालमा औषधि छैन भनेर उपचार पाउन सकिदैन, बिरामी निजी क्लिनिकमा उपचारको लागि जान बाध्य छन्, तर निजी क्लिनिक सञ्चालकले हाम्रो स्वास्थ्यमाथि खेलबाड गर्ने र कमाउने काम मात्र गरेको छ, सम्बन्धित निकायहरु मौन छन् ।”

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...