Tuesday, January 26, 2016

युवा संघ झापामा पाँच युवाको तीब्र असन्तुष्टि

12648007_979499355472683_2116320200_nझापा, १२ माघ । एमालेको युवा सङ्गठन युवा संघ नेपाल झापाको आठौँ अधिवेशन नजिकिएसँगै पाँच जनाले छुट्टै समूह बनाएर प्रतिस्पर्धा गर्ने तयारी तीव्र पारेका छन् । माघ १६ गते हुने अधिवेशनमा पार्टी नेतृत्व र केन्द्रमा नेतृत्व गर्ने युवा संघका नेताहरुले गलत निर्णय लिएको भन्दै उनीहरु त्यस्तो निष्कर्षमा पुगेका हुन् ।

बिर्तामोडमा मङ्गलबार पत्रकार सम्मेलन गरी अध्यक्षमा युवराज ओली, उपाध्यक्षमा खगेन्द्र बाराकोटी, सचिवमा चन्द्र थापा, सहसचिवमा तिलक नेपाल र कोषाध्यक्षमा विकास गिरीले नेतृत्वको निर्णयप्रति असन्तुष्टि जनाउँदै आफूहरु निर्वाचन पद्धतिमार्फत् अघि बढ्न चाहेको स्पष्ट पारे ।  ‘हामी गुट, उपगुटलाई समाप्त गरेर पार्टीमा नयाँ सन्देश  दिन चाहन्छौँ’, अध्यक्षका प्रत्यासी ओलीले भने, ‘आफ्ना नजिकका र चाकडी गर्ने व्यक्तिलाई नेतृत्वमा पुर्‍याउने पार्टी नेताहरुको शैली खराब छ, त्यसलाई चिर्न हामीले अभियान थालेका हौँ ।’

मेची अञ्चलको युवा संघ सदस्य समेत रहेका उनले आफूहरुलाई बेवास्ता गरेपछि यस्तो निर्णयमा पुग्न बाध्य भएको स्पष्ट पारे । आफूखुसी नेतृत्व छान्ने र अवसर दिने संस्कारले पार्टीको भ्रातृ सङ्गठन र सिङ्गो पार्टी नै कमजोर बनेको उनको ठम्याइ छ । ०५४ सालमा प्रजातान्त्रिक राष्ट्रिय युवा संघको झापा सचिव भएर जिम्मेवारी सम्हालिसकेका उनले आफूहरुको एक्लो असन्तुष्टि नभई बहुमत कार्यकर्ताको हितमा काम गर्न लागिपरेको प्रस्ट्याए । जिल्ला अधिवेशनमा २६५ जना प्रतिनिधि सहभागी हुनेछन् । १५ जनालाई आयोजकले छान्ने प्रावधान भए पनि त्यसमा समेत युवा संघभित्र विवाद देखिएको छ । आयोजकका तर्फबाट २१ जनाले अधिवेशनमा सहभागिता जनाउने अधिकार राख्छन् ।

कार्यक्रममा बाराकोटी, थापा, गिरी र नेपालले आफूहरु चुनाव जित्ने र सक्षम भएको दाबी गरे । उनीहरुले छुट्टै चुनाव लड्ने बताए पनि प्यानल बनाएको भन्ने कुरा भने अस्वीकार गरेका छन् । युवाको नेतृत्व छान्न युवा नै सक्षम भएको जिकिर गरेका उनीहरुले त्यही अवसर नदिएपछि आफूहरु चुनावको पक्षमा रहेको स्पष्ट समेत पारे ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...