Friday, February 26, 2016

बिहे : एक प्रस्ताव

neelam karki niharika

एक सखारै प्रसन्न मुद्रामा
कान्छाबाजे समाचार लिई आउनुहुन्छ
बतासभै हतासिँदै सुनाउनुहुन्छ–
‘भाग्य चम्कने भयो नानीको स्वीकार भयो,
केटा राजी छन् हाम्री नानीलाई बिहे गर्न’

एक जुनीसाथ बिताउन साँच्चै उहाँ राजी हुनुहुन्छ भने
दहीमा टीका मुछ्नुअघि
स्वयम्बरको दूबो माला गाँस्नुपूर्व
सुनाइदिनू मेरो विनम्र एक विनम्र प्रस्ताव उहाँलाई–
म आउनेछु बेहुली बनी आँगनमा जन्ती लिएर

स्पष्ट भनिदिनू,
बिहेमा मेरो बेहुलाले शिर झुकाएर
प्रदक्षिणा गर्नुपर्ने छैन मलाई
खुम्चिएर रहनुपर्ने छैन उहाँ विवाहमण्डप उत्सवमा
उदात्त छाती, उच्च शिर
हर्सोल्लास गर्न पाउनु हुनेछ आपूmखुसी

दस्तुर तिरेर मेरो जुठो खुवाइने छैन उहालाई
गृह प्रवेशपश्चात्
पाउमा शिर टेकाउनु र
झुक्नुको अभ्यास पनि गराइने छैन
गल्तीहरूको सूक्ष्म मूल्याङ्कन सूचीपत्र
तयारी अवस्थामा राखिएको हुने छैन
गन्ती सुरू गरिने छैन प्रत्येक पाइलाहरूको
सदा हजुरबाट नै सम्बोधित हुनुहुने छ उहाँ

उहाँको अशक्त समयमा
सम्पूर्णका सहानुभूति, सद्भाव, सेवा हुनेछ
उहाँको पोल्टामा
म वचन दिन्छु,
थकित समय उहाँको गाथले
आरामको कोल्टे फेर्न सक्नेछ

उहाँको थाली अलग स्थानमा भण्डार गरिने छैन
सत्य भनिरहेछु,
उहाँले अन्तिम भोजन गर्नुपर्ने छैन
बासी र जुठो वर्तनले प्रतीक्षा गरिबस्ने छैन कहिल्यै

आफ्नै जन्मदाता भेट्दासमेत
हप्तौँ महिनौँदेखिका तह–तहका स्वीकृति
या अनुमोदनको आवश्यकता पर्नेछैन
अज्ञानतावसका स–साना भूलमा समेत
मबाट त्रूरता प्रदर्शन गरिने छैनन्
घृणाका आक्रमक आँखा कहिले लगाउने छैन

भनिदिनू–
अपशब्दका बर्सात्मा कहिल्यै रुझ्नुपर्ने छैन उहाँलाई
दण्डित हुनुपर्ने छैन नबिराएका बेकसुर समयहरू

भयभित नहुनू भनिदिनु होस् बेहुलालाई
उहाँको समय घडी स्वःमर्जीमा चल्न पाउनेछ
क्यालेन्डरमा कुनै पृथकता हुनेछैन
निद–निदाउन सक्नेछ उहाँकै तालिकामा
स्वयम्लाई गाल्नुपर्ने छैन
पर–इच्छाको साँचोमा ढाल्नुपर्ने छैन मनोकाङ्क्षा

भनिदिनू,

अर्को विश्वास दिलाउन चाहन्छु उहाँलाई–
उपहार अर्थात् दाइजोको निहुँमा उहाँको मन या शरीर जल्नुपर्ने छैन
धूवाँले रङ्गाएको हृदय बोकी हिँड्नुपर्ने छैन
विवाहपश्चात् कुनै दिन
न त सम्झौताको विशाल पत्थरले
थिचिएर बाँच्नु नै पर्नेछ

कारणबस घर फर्किन विलम्ब भएको अवस्थामा
स्पष्टीकरणको निम्ति हुटहुटी हुनुपर्ने छैन
साथीहरूसँग भेटघाट समय व्यतीत गर्नु परे
कुनै बन्देज हुने छैन
अर्को कुरा,
घरमा उहाँको योग्यताको कदर हुनेछ
बहस र निर्णय र भाग लिन रोकावट हुने छैन,
जानेर–अन्जान, पढेर–निरक्षन जीवन व्यतीत गर्नुपर्ने छैन उहाँलाई
अपमानित हुने छैनन् उहाँका कुनै सोच र अभिव्यक्ति

विवाहपश्चात् भई परिआएमा कुनै दुर्घटना
भवितव्य उत्तरदायी उहाँलाई सम्झिने छैन
लक्षिण र अलक्षिणको तराजुमा जोखिने छैन उहाँलाई
थप कुरा,
घरबाट बहुमूल्य समान हराई हाल्यो भने
चोर औँला उहाँतर्पm तेर्सिने छैन

सम्बध पुरानिँदै जाँदा
मदिरामा होश हराएको जीवनसाथीबाटै
कुटपिट हुने महात्रासमा रत्तिभर नरहनू
कसम लिएर भन्छु,
आजन्म पाल्तु होइन मानवकै दर्जामा रहनुहुने छ

खबर पाऊँ,
अब बिहेनिम्ति राजी उहाँ हुनुहुन्छ भने
म बेहुली बनी जन्ती लिएर आउनेछु

उहाँले मसँंग होइन
मैले उहाँसँग पनि होइन
त्यो विवाह हाम्रो हुनेछ, हामी दुवैको
के स्वीकार छ उहाँ–हजुरलाई यो बिहे–प्रस्ताव ?

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...