Friday, February 26, 2016

नेपाली आकाशलाई सुरक्षित बनाउन एमालेको माग

काठमाडौँ, १४ फागुन । नेकपा (एमाले)ले नेपालगन्जबाट जुम्लाका लागि उडेको काष्ठमण्डप एयरको विमान कालीकोटको चिलखायमा दुर्घटना भई चालक र सहचालकको मृत्यु तथा यात्रुहरु घाइते भएको खबरले पार्टी स्तब्ध भएको जनाएको छ ।

पार्टी केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले आज प्रेस विज्ञप्ति जारी गरी चालक दलका सदस्य दुवैको मृत्यु र विमानमा सवार यात्रु घाइतेको समाचारले पार्टीलाई स्तब्ध बनाएको उल्लेख छ । “विमान दुर्घटना जस्तो पीडादायी दुर्घटनामा परी आफ्नो अमूल्य जीवन गुमाउन पुगेका चालक दलका सदस्यप्रति हार्दिक श्रद्धाञ्जलि र शोकाकूल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेको जतिसक्दो छिटो उपचारका लागि सरकारको ध्यानाकर्षण गराउँछौँ”– विज्ञप्तिमा भनिएको छ ।

पार्टीले दुई दिन अगाडि मात्र पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान म्याग्दीको सोलीघोप्टेको भिरमा दुर्घटना हुँदा सवार चालक दलका सदस्य तथा यात्रुको मृत्युको घटना सेलाउन नपाउँदै पुनःअर्को दुर्घटनामा हुनाको यथार्थ जनसमक्ष ल्याउनुपर्नेमा जोड दिएको छ । नेपाली आकाशलाई सुरक्षित र भरपर्दो बनाउने सन्दर्भमा प्रभावकारी कदम चाल्न पार्टीले सरकारको ध्यानाकर्षण गराउँदै विमान दुर्घटनाका सत्यतथ्य बाहिर ल्याउन उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...