Wednesday, March 23, 2016

भासिएको सडकमा भौगर्भिक अध्ययन

इलाम, ११ चैत । मेची राजमार्गअन्तर्गत माईखोला–गोलाखर्क सडकमा पर्ने जमिन बर्सेनि भासिँदै जान थालेपछि भौगर्भिक अध्ययन सुरू गरिएको छ ।

माईखोला राजदुवालीमाथिको राजमार्ग धस्सिएको स्थानमा पूर्वाञ्चल सडक डिभिजन कार्यालयले अवस्था बुझ्ने काम सुरू गरेको हो ।

भौगर्भिक अध्ययन टोलीले राजदुवाली पुलभन्दा माथिको भू–भागमा जग्गा भित्रभित्रै बग्दै गरेको प्रारम्भिक अध्ययनमा देखाएको छ । काठमाडौँस्थित इटीको नेपाल प्राइभेट लिमिटेडले गरेको अध्ययनअनुसार सडक सतहभन्दा १५ मिटरमुनिको जमिन बग्ने र भासिने गरेको जनाइएको छ ।

सोही संस्थाले राजमार्ग धस्सिएको स्थानभित्रको जमिनमा माटोको अवस्था र चट्टान के छ भनेर ‘कोरल’ गर्न थालेको पूर्वाञ्चल सडक डिभिजन कार्यालयका इन्जिनियर सागर पोखरेलले बताउनुभयो । ‘कोरल’ को प्रतिवेदन आएपछि सो स्थानमा पर्खाल, रक एङ्करिङ, क्रस एङ्करिङ, रिटेनिङ वाल आदिको काम गरिने छ ।

अध्ययनमा सतहभन्दा करिब २० देखि २५ मिटर तलसम्म रड राखेर एङ्करिङ गर्ने र कङ्क्रिट वाल निर्माण गर्ने सुझाव दिइएको थियो । उक्त क्षेत्रमा करिब एक दशकयता सडक भासिने र बग्ने क्रम जारी छ ।

चालु आव २०७२÷०७३ मा राजदुवाली माथिको ३०० मिटर सडकलाई मर्मत गर्न रु पाँच करोडमा ठेक्का दिइएको डिभिजन कार्यालयले जनाएको छ । राजदुवालीको जमिन बर्सेनि भासिने क्रम बढेपछि यस खण्डको यात्रा जोखिमपूर्ण बन्दै गएको छ । वर्षायाममा बढी जोखिम हुने गरेको छ । पटकपटक सडक मर्मत गरिए पनि जमिन भासिने क्रम अझै रोकिएको छैन ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...