Tuesday, March 22, 2016

पिठो पिस्न एक बास बस्नुपर्ने बाध्यता

जुम्ला, ९ चैत । कर्णालीको ग्रामीण बस्तीका अधिकांश महिलाले यहाँको परम्परागत घट्टमा एक बास बसेरमात्र पिठो पिस्न पाउँछन् ।

कर्णालीमा उत्पादित रैथाने बाली जौ, गहुँ, कोदो, मकैको पिठो पिस्न एक बास बस्नै पर्ने बाध्यता विद्यमान छ, उनीहरुलाई । परम्परागत घट्टमा अन्न पिस्दा घन्टौँको समय लाग्ने र त्यसका लागि घन्टौं कुर्नैैपर्ने भएकाले एक बास बस्नुपरेको मालिकाठाँटा–२ जुम्लाकोट गाउँका तिलसरी बस्नेतले बताउनुभयो ।

गाउँमा पिठो पिस्नेको सङ्ख्या बढी र घट्ट सङ्ख्या कम एवम् समय बढी लाग्ने भएकाले एक बास बसेर पिठो पिस्ने गरेको उहाँको भनाइ छ ।

यसरी पटक पटकको घट्टबास अधिकांश समय बस्नु पर्ने भएकाले महिला असुरक्षित हुने गरेको कुडारी–४ जुम्लाका सविना शाहीले जानकारी दिनुभयो ।

धेरै पटक महिलाको अस्मिता र गरगहना लुटिएका छन् र स्वास्थ्यमा पनि त्यस्तै खराबी आउने गरेको छ, उहाँले दुःख प्रकट गर्दै भन्नुभयो । यसबाट हुने महिला हिंसाको बारेमा भने कसैले कुरा बाहिर नल्याएको स्थानीय महिला अगुवा धनसरा सार्कीले बताउनुभयो ।
यो समस्या जुम्लाका मालिकाठाँटा, ताम्ती, कुडारी, घोडेमहादेव, कालिकाखेतु, महावैपातरखोला, बड्की, शनिगाउँ, नराकोट, पाण्डवगुफा, विराट, मालिकावोता, कनकासुन्दरी, बुम्रमाडीचौर, छुमचौर, पातारासी, गुठीचौर, डिल्लीचौरलगायतका गाविससहित नगरपालिकामा अहिले पनि यथावत नै छ ।

यो वास्तविक समस्या हो तथापि यसको समाधानका विषयमा सरोकारवाला नै ध्यान नदिएको गैरसरकारी संस्था महासङ्घ जुम्लाका अध्यक्ष दुर्गाप्रसाद पाण्डे बताउनुहुन्छ । उहाँका अनुसार पछिल्लो चरणमा आएको आधुनिक घट्ट निर्माण कार्यले एकाध गाविसका जनतामा सहजता मिलेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...