Saturday, July 9, 2016

पहिरो खसेर तमोर नदी थुनियो, बस्ती जोखिममा

anताप्लेजुङ, २६ असार । ताप्लेजुङको सावादिन गाविस–१ मा पर्ने मित्लुङ भन्ने भिरबाट पहिरो खसेर तमोर नदी थुनिएपछि तल्लो तटीय क्षेत्रका तीन वटा बजार जोखिममा परेका छन् ।

बिहान करिब २ बजेतिर माथिबाट पहिरो खसेर नदी थुनिएपछि नजिकैको मित्लुङ बजार, दोभान बजार, हान्द्रुङलगायतका तल्लो तटीय क्षेत्रका बस्ती जोखिममा परेका छन् भने स्थानीयवासी बाढी आउने खतराले त्रसित भएका छन् । सो क्षेत्रबाट अझै पनि पहिरो खस्न सक्ने सम्भावना रहेकाले थप खतरा रहेको स्थानीयवासीले बताएका छन् । अहिले थुनिएको नदीले केही भाग कटान गरी पानी बगिरहेको भए पनि खतरा कायमै रहेको जनाइएको छ ।

यता नदी थुनिएको खबर पाउनासाथ प्रहरीको टोली सो क्षेत्रमा पुगिसकेको छ भने यहाँस्थित नयाँ रणभीम गुल्मबाट नेपाली सेनाको टोली पनि जाने तयारीमा रहेको जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङले बताएको छ ।

यस्तै तमोर नदी आसपासका स्थानीयवासीलाई सतर्क रहनसमेत आग्रह गरिएको प्रहरीले जनाएको छ ।
विगतको तुलनामा नदीमा पानीको बहाव पनि बढेको इलाका प्रहरी कार्यालय दोभानले जनाएको छ । यता सो क्षेत्रमा रहेको जीवन लाबुङ र दिलबहादुर लाबुङका दुई वटा घर डुबानमा परेका छन् भने जीवन लाबुङकै एक हल गोरु नदीले बगाएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...