Wednesday, September 7, 2016

मलाई मृत्युदण्ड देऊ..

image1
म एक नम्बरको राष्ट्रघाती हूँ,
मलाई आजीवन जेल हाल,
मैले नदी नाला बेचेर अध्यारो किनेँ
साँध सिमाना बेचेर सत्ता किनेँ
छिमेकीको अन्धो हनुमान बनेर
आफ्नै घरको छानो जलाएँ
म एक नम्बरको राष्ट्रघाती हूँ,
मेरो सर्वष्व हरण गर,
मलाई आजीवन जेल हाल,
मिल्छ भने मृत्युदण्ड देऊ…

मैले शहरमा बसेर जंगलमा बमबारी गरेँ
जंगलमा बसेर शहरमा आगजनी गरेँ
भोका जनताहरु लडाएर आपसमा
नयाँ कोतपर्ब मच्चाएँ
गुण्डा, तस्कर र भ्रष्टहरुको नाइके बनेर
देश पुरै हल्लाएँ,
म एक नम्बरको अपराधी हुँ
मलाई आजीवन जेल हाल,
मिल्छ भने मृत्युदण्ड देऊ….

म देशसंग अंशमुद्दा लडेँ
झन्डामुनि बसेर धेरैचोटि झन्डा जलाएँ,
सत्तामा जान सिद्धान्त च्यातेँ
सडकमा ओर्लिदा भैरव नाँच देखाएँ,
हो म एक नम्बरकै देशद्रोही हुँ
मलाई आजीवन जेल हाल,
मिल्छ भने मृत्युदण्ड देऊ,

युरोपको पि आर र अमेरिकाको ग्रीनकार्ड बोकेर ,
नेपालको वरिष्ठ मन्त्री खाएँ
देशलाई जोगी बनाएर,
म चाहिँ कुवेर भएँ
म यो देशको ठूलो अभिसाप हुँ
कृपया मलाई आजिबन जेल हाल,
या मृत्युदण्ड देऊ…
मलाई पापहरुको प्रायश्चित गर्न देऊ..

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...