काठमाडौँ, ३ माघ । सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले राजनीतिक दलहरुको सहमतिमा छिट्टै स्थानीय तहको निर्वाचनको मिति घोषणा गरिने बताउनुभएको छ ।
रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा मन्त्री पाण्डेले संविधानलाई आवश्यक परिमार्जन गरेर भए पनि निर्वाचनमा जाने बताउनुभयो । उहाँले भन्नुभयो, “सबै समुदायको भावनालाई समेट्ने गरी संविधान संशोधन गछौँ ।”
निर्वाचनसम्बन्धी विधेयकलाई संसद्बाट चाँडो पारित गरेर निर्वाचनको मिति घोषणा गर्न सरकार आतुर रहेको उहाँको भनाइ थियो । मनसुन सुरु हुनुभन्दा पहिले नै निर्वाचन हुने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।
नेपाली काँग्रेसका नेता नारायणप्रकाश साउदले निर्वाचन समयमै हुनुपर्छ भन्ने काँग्रेसको धारणा रहेको र त्यसका लागि वातावरण निर्माण गर्न काँग्रेस दिनरात लागिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “काँग्रेस संसद्को ठूलो दल र सरकारमा भएको कारण यसमा काँग्रेसले महत्वपूर्ण भूमिका खेलिरहेको छ ।”
नेता साउदले संविधान संशोधन र स्थानीय निकायको निर्वाचनका लागि नेकपा (एमाले) र मधेसी मोर्चालाई लचक हुन आग्रहसमेत गर्नुभयो ।
नेकपा (एमाले)का नेता लालबाबु पण्डितले एमालेको प्राथमिकता निर्वाचन भएकाले निर्वाचनको वातावरण बनाउन सरकारसँग आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “निर्वाचन र संविधान कार्यान्वयनका लागि एमाले सधँै तयार छ ।”
उहाँले निर्वाचनका लागि कानुन बनाउने काममा एमाले बाधक नबन्ने पनि स्पष्ट पार्नुभयो ।
सद्भावना पार्टीका नेता लक्ष्मणलाल कर्णले मधेसी मोर्चा निर्वाचनको पक्षमा रहेको भएपनि जबर्जस्ती निर्वाचन गर्न खोजिए आफूहरुलाई मान्य नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले संविधान संशोधन गरौँ अनि निर्वाचनमा जाऔँ ।”
No comments:
Post a Comment