Saturday, April 8, 2017

अझै पनि न्यायालयमा सबैको पहुँच हुन सकेको छैन : प्रधानन्यायाधीश कार्की

दाङ, २६ चैत । प्रधानन्यायाधीश सुशीला कार्कीले राजनीतिक प्रभाव हरेक क्षेत्रमा देखापरका कारण देशको समृद्धि हुन नसकेको बताउनुभएको छ । उच्च अदालत तुलसीपुर, दाङमा आज आयोजना गरिएको मेलमिलापसम्बन्धी अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानन्यायाधीश कार्कीले राजनीतिक प्रभाव र भागबन्डाको राजनीति अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।

“हरेक क्षेत्रमा भागबन्डाको राजनीति हुन्छ, सामाजिक रुपमा समान हेराइ र व्यवहार गर्न सकिए मात्र पछाडि परेका नागरिकको उत्थान हुन सक्छ,” उहाँले भन्नुभयो ।

अदालतप्रति नागरिकको विश्वास बढाउन न्यायाधीश, अदालतका कर्मचारीको बोली व्यवहारमा समेत परिवर्तन गर्नुपर्ने उहाँको सुझाव थियो । “बोली व्यवहार अझै परिवर्तन हुन सकेको छैन, न्यायसम्पादनमा लामो समय लाग्ने र खर्च हुने भएकाले न्यायालयमा सबैको पहँच हुन सकेको छैन,” कार्कीले भन्नुभयो ।

“पाँच-सात प्रतिशत सहरीया व्यक्तिको मात्र अदालतसम्म पहुँच छ,” उहाँले भन्नुभयो । मुद्दा फैसलाको अर्को विकल्प मेलमिलाप भएको र अदालतबाट गरिएको फैसला कार्यान्वयनमा जटिलता हुने गरेको कार्कीको भनाइ थियो ।

सोही अवसरमा न्यायपरिषद्का सदस्य पदम वैदिकले मेलमिलाप एउटा औजार भए पनि यसलाई समुदायमा अझै प्रभावकारी रुपमा लैजान नसकेको बताउनुभयो । “मेलमिलापको दरमा किन कमी भएको छ, यसको समीक्षा गर्नुपर्छ”, उहाँले भन्नुभयो । सर्वोच्च अदालतको फैसला कार्यान्वयन हुन नसकेका थुप्रै उदाहरण रहेका र मेलमिलापबाट प्राप्त उपलब्धि सजिलै कार्यान्वयन हुने उहाँको भनाइ थियो ।

उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश बमकुमार श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीश डा आनन्दमोहन भट्टराईले मेलमिलापसम्बन्धी जानकारी र सर्वोच्च अदालतका रजिष्ट्रार नृपध्वज निरौलाले नेपालमा मेलमिलापसम्बन्धी कानुनी व्यवस्था र मेलमिलाप सरोकारवालाको भूमिकाका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...