दशैँ सहभोज : निशुल्क
दक्षिणा : निसेध
स्थान : 14102 Wood Rock Way, Centreville, VA, 20121
मिती – अक्टोबर १, आईतवार, दिउँसो २ बजे देखि छ बजे सम्म
उद्देश्य : नेपालीहरुको महान चाड बडा दशैँको महत्व, भाईचारा, एकता, सँस्कृती र बिदेशमा पनि अाफ्ना सन्ततिहरुलाई दशैँको महत्व बारे सिकाउन बुझाउन र निरन्तरताको लागि ।
आदरणीय महानुभावज्यूहरू,
नमस्कार अनि विजया दशमी २०७४ को सुखद उपलक्ष्यमा हार्दिक मँगलमय शुभकामना !
सनातन धर्मावलम्बीहरू तथा नेपालीहरूको महान चाड विजया दशमी २०७४ को सुखद आगमन भईरहेको हामी सबैलाई विदितै छ। विजया दशमी सामाजिक, साँस्कृतिक एवं धार्मिक रूपमा वैभवशाली त छदैछ, तात्विक रूपमा पनि त्यत्तिकै महत्वपूर्ण छ।
नेपाली सन्दर्भमा हेर्दा यो चाड अनेकतामा एकता, विविधतामा एक रूपता कायम गर्दै सामाजिक, साँस्कृतिक एकता सूत्रको रूपमा सदियौँ देखि साझा धरोहर स्थापित हुदै आएको छ। धार्मिक रूपमा हिन्दूत्व (सनातन धर्म) , आध्यात्मिक रूपमा ॐ कार परिवार र सामाजीक साँस्कृतिक रूपमा नेपाली पन अनि मनको प्रतिबिम्ब बन्दै आएको छ विजया दशमी । सामाजिक साँस्कृतिक एवं तात्विक महत्वको यो महान चाडलाई राजनैतिक स्वार्थले प्रेरित हुदै असान्दर्भिक, अवैज्ञानिक एवं कुनै विशेष जाती समूहको मात्र भएको भन्दै लाञ्छना लगाउने दुष्प्रयास गरेको पनि देखिन्छ। दशै बहिष्कार तथा बिरोधका झिना-मसिना आवाजहरू यदा-कदा सुनिन्छन् पनि। तर वास्तविकतामा यो चाड सबैको साझा चाड हो। सामाजिक साँस्कृतिक एकताको सूत्र हो। सामाजिक न्याय अनि सत्य यात्राको निरन्तरता हो। वैदिक र तान्त्रिक अनि आध्यात्मिक र तात्विक मान्यता बोक्ने र मान्नेहरूको संगम हो। तसर्थ यो चाडलाई हामी सबै मिलेर मनाउनु र यसका महत्वहरूलाई हाम्रा सन्ततीहरू मार्फत समाजलाई सुसुचित गर्नु तपाँई हामी सबैको साझा दायित्व हो।
यसर्थ यिनै महत्व र जिम्मेवारीलाई आत्मसात गर्दै अनेसास वाशिङटन डि सी मेट्रो कमिटीले यही आउदो अक्टोबर १ तारिख २०१७ का दिन दिउसो २ बजे देखि साँझ ६ बजे सम्म 14102 Wood Rock Way, Centreville, VA, 20121 स्थित हाम्रा उपाध्यक्ष श्री अरूण रूपाखेतीज्यूको निवासमा, हाल अमेरिकाको डी सी ग्रेटर क्षेत्रमा रहनु भएका जेष्ठ नागरिक आमा बुवाहरूको करकमलबाट सामुहिक टीका तथा आशिर्वाद ग्रहण गर्दै विजया दशमी चाड मनाउने निधो गरेको छ। हाम्रो साझा धरोहरको सँरक्षण, संवर्धन एवं पहिचान गर्दै सामाजीक साँस्कृतिक एकता दर्शाउने उक्त पवित्र चाड दशैँका सन्दर्भमा आयोजित दशैँ टिका ग्रहण, दशैँ सम्बन्धी गीत, कविता, मुक्तक, गजल बाचन कार्यक्रममा उपस्थित भई योगदान पुर्याउनुहुन हामी सबैमा सादर अनुरोध गर्दछौं।
उक्त कार्यक्रममालाई ब्यवस्थित तवरले सफल तुल्याउन यस सँस्थाका उपाध्यक्ष श्री अरूण रूपाखेतीज्यूको सँयोजकत्वमा र अनेसास डिसीका सबै पदाधिकारी तथा सदस्यहरु रहनुभएको दशैँ बिशेष कार्यक्रम आयोजक समिती गठन गरिएको छ। सदा झैं यस पटक पनि सबैलाई सहयोगका निम्ती अनुरोध छ।
आयोजक :
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्टन डिसी मेट्रो कमिटी
No comments:
Post a Comment