Thursday, September 14, 2017

मधेसमा अब डुबान हुँदैन : प्रधानमन्त्री शेरबहादुर देउवा

सञ्जय मित्र, रौतहट
प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा मधेसमा अब डुबान नहुने बताएका छन् । रौतहटको गरुडामा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भारत भ्रमणको आफू गएको बेला भारतीय प्रधानमन्त्रीसँग भारतले बनाएको उच्च बाँधका कारण मधेसमा डुबान हुने गरेको विषयमा कुराकानी गरेको बताउँदै दुई देशका प्राविधिक टोली खटाएर पानीको निकासको विषयमा अध्ययन गर्ने र आवश्यकताअनुसार पाइप लगाएर तथा अन्य तरिकाले पानीको निकास दिने भनी आफूलाई आश्वास्त पारिएकाले पानीको निकास हुने विश्वास व्यक्त गरेका छन् । देशमा सबैभन्दा बढी डुबानमा परेको जिल्ला रौतहट भएकोले अब रौतहट डुबानमा नपर्ने प्रधानमन्त्री देउवाले दोहो¥याएका छन् । आफ्नो छोटो सम्बोधनमा प्रधानमन्त्री देउवाउले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल र फास्ट ट्रयाकको निर्माण भएपछि मधेसमा नै विकास र समृद्धिको लहर आउने पनि बताएका छन् ।

सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानलाई मधेसीको सम्मानको दस्तावेजको रुपमा बताउँदै संविधानले सारा नेपाली जनताको सम्मान गरेको स्पष्ट पारेका छन् । बहुदलीय जनवादको नाउँमा एमालेले र माओवादको नाउँमा माओवादी तथा मधेसवादको नाउँमा फोरम, राजपा लगायतका दलहरुले जनता ठगिरहेको बताउँदै वरिष्ठ नेता पौडेलले सिद्धान्तमा हिँड्ने पार्टी नेपाली काँग्रेसमात्र भएको दाबी गरेका छन् । नेपाली काँग्रेसले अब देशमा रोजगारी र समृद्धिको अभियान चलाउने आश्वासन दिएका छन् । डा.शशांक कोइरालाले संविधान असफल भए पनि नेपाली काँग्रेसले निरन्तर प्रयास गरी संशोधन गर्ने स्पष्ट पारेका छन् भने डा. प्रकाश शरण महतले एमाले, माओवादी र मधेसवादी दललाई अडान परिवर्तन गरिरहने पार्टीको आरोप लगाउँदै हरेक परिवर्तनको नेतृत्व नेपाली काँग्रेसले गरेको र आर्थिक परिवर्तनको नेतृत्व पनि गर्ने बताएका छन् ।
नेपाली काँग्रेस निकट विभिन्न कलाकारहरुले बीच बीचमा नृत्य तथा हास्यव्यंग्यात्मक कार्यक्रम प्रस्तुत गरेको जनसभामा पूर्वमन्त्री महम्मद आफताब आलम, देवी तिमल्सिना लगायत दर्जनभन्दा बढी नेताले मन्तव्य व्यक्त गरेका छन् । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी दर्जनभन्दा बढीले प्रधानमन्त्री देउवाबाट टीका लगाई नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...