Thursday, January 4, 2018

रत्ननगर महोत्सवको तयारी अन्तिम चरणमा, महोत्सवमा कृषिलाई प्राथमिकता

 

शिशिर सिंखडा
रत्ननगर, चितवन, २० पौष ।
पूर्वी चितवनको रत्ननगरमा यही पौष २७ गते देखि शुरु हुने रत्ननगर महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सवको ९० प्रतिशत तयारी पुरा भैसकेको छ । व्यवसायिक र कृषिको प्रर्बद्धनको लागि रत्ननगरको टिकौली चौरमा हुने रत्ननगर महोत्सव रत्ननगर उद्योग बाणिज्य संघको आयोजनामा यही पौष २७ गतेदेखि माघ ७ गतेसम्म महोत्सवको नवौं संस्करण हुदैछ ।
महोत्सव व्यवस्थित रुपले सम्पन्न गर्न एक मुल समारोह समिति र विभिन्न उपसमिति बनाएर काम भइरहेको छ । महोत्सव हुने टिकौली चौरमा मैदान व्यवस्थापन, स्टल निर्माण र प्रचारप्रसारको काम भइरहेको संघका अध्यक्ष तथा महोत्सवका संयोजक राजाराम रेग्मीले जानकारी दिए । यस पटकको महोत्सवमा कृषिको प्रर्बद्धनलाई प्राथमिकता दिईएको छ । कृषिको विकास र विस्तारको लागि यस पटक प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनासंग सहकार्य गरिएको महोत्सवका संयोजक रेग्मीले बताए । प्रत्येक दुई वर्षको अन्तरालमा हुने सो महोत्सवको चितवनको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र अन्य आर्थिक महत्वका क्षेत्रहरुको आधुनिकीकरण र वैज्ञानिक उत्पादन प्रणालीसंग अभिमुखीकरण गराउने प्रमुख उद्देश्य रहेको संयोजक रेग्मीले बताए । महोत्सवमा उद्योग, व्यापार, कृषि तथा पर्यटनको प्रवद्र्धन, स्थानीय कला, संस्कृतिको प्रदर्शन र स्थानीयस्तर तथा अन्य क्षेत्रमा उत्पादित वस्तु एवम् सेवाको परिचय गराउने करिव ४५० वटा स्टल रहने छ । जिल्लाको सर्वपक्षिय मौलिक विशेषता झल्काउने विविध लोकसांस्कृतिक कार्यक्रम, चित्रकला तथा मूर्तिकलाको प्रतियोगितात्मक प्रदर्शनी समावेश गरिने छ । यस पटकको महोत्सवमा ५ लाख भन्दा बढी दर्शकहरुले अवलोकन गर्ने र करिब ५० करोडभन्दा बढिको कारोबार हुने अपेक्षा गरिएको छ । रत्ननगर महोत्सव २०७४ लाई भव्यताका साथ सम्पन्न गर्न मूल समिति, स्टेरिङ कमिटी, सल्लाहकार समिति लगायत विभिन्न कार्यका लागि ३३ वटा कार्यगत समितिहरु गठन गरि तदारुकताका साथ काम अगाडि बढाई सकिएको संघका बरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठले जानकारी दिए ।

महोत्सवमा कृषिलाई प्राथमिकता

महोत्सवमा बृहत व्यवसायिक कृषि प्रर्दशनी तथा प्रतियोगिता, ताजा तरकारी, च्याउ, थोपा सिंचाई प्रविधि, केरा, माछा, दुग्धजन्य पदार्थ, निःशुल्क माटो परीक्षण शिविर, पोल्ट्री, महसगै चितवनमा प्रबल सम्भावना भएका कृषि तथा पशुजन्य व्यवसायलाई विशेष जोड दिएको छ । स्थानीय स्तरमा उत्पादित ताजा तरकारी, फलफुल, दुग्ध जन्य पदार्थ, पोल्ट्री लगायत कृषि व्यवसायसंग सम्बन्धित विभिन्न सेवा, प्रविधि एवम् मल विउ विजन प्रदर्शनको व्यवस्था गरिने छ । माछा, केरा, तरकारी तथा फलफुल, च्याउ, पोल्ट्रीका छुट्टाछुट्टै परिसर हुनेछन । महोत्सव अवधिभर कृषिसंग सम्बन्धित विभिन्न गोष्ठी, अन्र्तक्रिया कार्यक्रम, चितवनको आर्थिक विकासका लागि विशेष आर्थिक क्षेत्रको स्थापना र चुनौती विषयक गोष्ठी पनि संचालन गरिने कृषि प्रवर्धन समितिका संयोजक ईश्वरी अर्यालले जानकारी दिए । महोत्सवमा माछाको पोखरीका साथै माछापालन गर्ने तरिका तथा बजारीकरणको विषयलाई पनि प्राथमिकतामा राखिएको छ । माछापालन व्यवसायको प्रर्वद्धनको लागि महोत्सवमा माछाको भूराको प्रर्दशनी, अत्याधुनिक माछासहितको पोखरी, माछालाई आवश्यक पर्ने औषधि तथा दानाका स्टलहरु, चेतनामुलक सामाग्री, श्रव्यदृश्य तथा सेमिनार गरिने छ ।

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...