Thursday, March 8, 2018

अध्यागमनबारेका नकारात्मक टिप्पणी अब सुन्न नपरोस् : गृहमन्त्री थापा

काठमाडौं, फागुन २४ । गृहमन्त्री रामबहादुर थापाले अध्यागमन विभाग र सोअन्तर्गतका कार्यालयका कमी–कमजोरी हटाइ तत्काल सुधारको काम अघि बढाउन निर्देशन दिएका छन् ।

बिहीबार काठमाडौंमा अध्यागन विभागको निरीक्षणपछि गृहमन्त्री थापाले अध्यागमनका केही कर्मचारीको मिलेमतोमा अवैध काम हुने गरेको भनिआएका नकारात्मक टिप्पणीहरु अन्त्य हुने गरी काम गर्न निर्देशन दिए ।

अध्यागमनकोे छविमा केही दिनभित्रै सुधार देखिने गरी कार्यशैलीमा परिवर्तन ल्याउनुपर्नेमा उनले जोड दिए ।

यो क्षेत्र राष्ट्रिय सुरक्षासँग जोडिएको विषय भएकाले यसलाई सोहीअनुसार गम्भीररुपमा लिनुपर्ने गृहमन्त्री थापाले बताए ।

विश्वका अपराधीहरुले सहजै प्रवेश पाउनसक्ने मुलुककारुपमा नेपाललाई चिनिनबाट रोक्न पनि सुरक्षाको पाटोलाई विशेष ध्यान दिन उनले आग्रह गरे ।

देशको सुरक्षा र स्थिरतासँग जोडिएको क्षेत्र भएकाले अध्यागमनको सुधार हुनसके देशकै सुरक्षा र स्थायित्वमा सुधार आउने उनको भनाइ छ ।

अध्यागमनलाई स्रोत–साधन सम्पन्न गर्न तथा आवश्यक तालिमका लागि मन्त्रालयबाट पूर्णरुपमा सहयोग हुने उनले बताए ।

उनले भने–‘पाँच वर्षभित्र विकसित मुलुकका अध्यागमनले दिनेजस्तै सेवा, सुविधा र प्रविधिसहितको कार्यालय हुनेगरी काम सुरु गर्नोस्, सरकारले आवश्यक आर्थिक सहयोग गर्छ ।’

अध्यागमनका कर्मचारीले आफूलाई मालिककारुपमा होइन सेवककारुपमा उभ्याउन उनले निर्देशन दिए ।

उनले कर्मचारीहरुलाई भने–तपाइँहरु भोलि सेवानिवृत्त भएपछि साधारण नागरिककारुपमा अध्यागमनबाट जुन किसिमको सेवाको अपेक्षा गर्नुहुन्छ, सोहीअनुरुपको व्यवहार आज तपाइँहरुले गर्नोस् ।’

कार्यक्रममा गृह मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा, अध्यागमन विभागका महानिर्देशक दीपक काफ्लेले विभागको वर्तमान अवस्था र काम–कारबाहीबारे मन्त्री थापालाई जानकारी गराएका थिए । रासस

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...